पोखरा । सडक बनाउने क्रममा माथिबाट खसेको माटोको ढिस्कोले पुरिँदा पोखरामा पाँच जनाको ज्यान गएको छ । पोखरा महानगरपालिका वडा नम्बर २० को मौजामा बाटोको नाली खन्ने क्रममा ढिस्कोले पुरेको हो ।
मृत्यु हुनेमा सल्यान जिल्ला बागचौर नगरपालिका–४, पेदीखोलाका तोवान बस्नेत, जीतबहादुर बस्नेत, खिमलाल ओली, गणेश ओली र जोगेन्द्र बुढाथोकी रहेका छन् ।
पुरानो मौजा गाउँविकास समितिको बिसौना भन्ने ठाउँमा सडक निर्माणको क्रममा खसेको ढिस्को पन्छ्याउने क्रममा माथिबाट पहिरो आउँदा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । नाली पहिल्यै खनेको भए पनि फराकिलो बनाउने क्रममा बिहान करिब साढे ७ बजेतिर ढिस्को खसेको थियो।
घटनास्थलबाट भागेर ज्यान जोगाएका खिमलाल बस्नेतका अनुसार माथिबाट पहिरो आउन थालेपछि सबै जना भागेको तर, साथीहरुलाई बचाउन नसकिएको बताए।पोखराको मणिपाल अस्पताल–स्यालेचौर–मौजा बिसौना– सिक्लेस– मनाङ सडकखण्डको बाटो निर्माणको काम चलिरहेको छ।