काठमाडौं । दक्षिण एसियाली खेलकुद (साग)को उद्घाटनका दिन आज (आइतबार) काठमाडौंको चक्रपथभित्र बिजोर नम्बरका सवारी साधन मात्रै चलाउन पाइने भएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १३औँ सागको उद्घाटन र समापन समारोहको अवसरमा सवारीसाधनको चाप व्यवस्थापन गर्न जोर–बिजोर नियम लागू गरेको हो ।
सवारीसाधनको चाप बढी हुने काठमाडौंमा सागको उद्घाटन र समापनका दिन जोर–बिजोर नियम लागू गरिएको हो ।
उद्घाटनका दिन आइतबार बिजोर र समापनका दिन २४ मंसिरमा जोर नम्बर प्लेटका सवारीसाधन मात्रै चलाउने पाइनेछ ।
त्यस्तै, ठूला सवारीलाई भने सागभर चक्रपथभित्र सञ्चालनमा रोक लगाइएको छ । ठूला सवारीले ट्राफिक जाम गर्ने भएकाले साग अवधिभर चक्रपथभित्र निषेध गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।
त्यस्तै, त्रिपुरेश्वर आसपासका सडक प्रयोग नगरी वैकल्पिक मार्ग प्रयोग गर्न पनि ट्राफिक प्रहरीले सबैमा आह्वान गरेको छ ।