पोखरा । देशमा एमसीसीको पक्ष र विपक्षमा चर्काचर्की चलिरहेको बेला पोखराबाट एमसीसी विरुद्धको गीत सार्वजनिक भएको छ । सङ्गम सांस्कृतिक मञ्चको प्रस्तुतिमा बनेको ‘से नो एमसीसी…’ बोलको गीतको रचना स्ट्रगल रानाले गरेका हुन् ।
संगम सांस्कृतिक मञ्चका अध्यक्ष काजी गाउँलेको संगीत रहेको गीतमा सचिव विकास लुङ्गेलीको स्वर रहेको छ । लुङ्गेलीलाई प्रतीक्षा सुनारले गायनमा साथ दिएकी छन् ।
एमसीसी आएमा नेपालको आकाशमा साम्राज्यको बादल छाउने भन्दै नेपाली छातीमा अमेरिकी सेनाले परेड खेल्ने अवसर बन्ने भएकाले कुनै पनि हालतमा एमसीसी पास गर्न नहुने भाव गीतमा प्रस्तुत गरिएको छ । नेताहरूले मातृभूमि बन्धक राखेर भुँडी भर्न खोजेको भन्दै एमसीसीको पक्षमा भएका नेताहरूलाई खबरदारी पनि गरिएको छ ।
प्रत्यक्ष गायनको भिडिओ निर्माण गरी सम्मोहन टिभी नामक युट्युब च्यानलबाट सार्वजनिक गरिएको गीतले अधिकांश नेपालीको भावना समेट्ने संगम सांस्कृतिक मञ्चको विश्वास छ ।