काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमण ४३५ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा सङ्गीताकौशल मिश्राले १० हजार २६७ जनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण देखिएको जानकारी दिनुभयो ।
उहाँका अनुसार अहिलेसम्म पाँच हजार २२५ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो समय थप २३९ जना कोरोनाबाट निको भएर घर फर्किएका उहाँले बताउनुभयो । योसँगै निको हुनेको संख्या आठ लाख १३ हजार १७६ पुगेको छ । निको हुने दर ९८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
यस्तै प्रवक्ता डा मिश्राले पछिल्लो २४ घण्टामा संक्रमणबाट कसैको पनि निधन नभएको जानकारी दिनुभयो । अहिलेसम्म ११ हजार ६०१ जनाको संक्रमणका कारणले निधन भएकोे छ । उहाँका अनुसार ५०० भन्दाबढी सङ्क्रमण भएको जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर रहेका छन् । यस्तै २०० भन्दाबढी सङ्क्रमित भएका जिल्लामा सुनसरी, कास्की, बाँके र कैलाली रहेका छन्
। यस्तै शून्य संक्रमित भएका जिल्लामा रसुवा, मनाङ, मुस्ताङ, हुम्ला र मुगु रहेका छन् । नेपालमा सङ्क्रमण दर १७ प्रतिशत रहेको छ । हाल होम आइसोलेसनमा चार हजार ८५२, संस्थागत आइसोलेशनमा ३७३, आइसियुमा ८४ र भेन्टिलेटरमा १४ जनाको उपचार भइरहेको छ ।