डा. गोविन्द आचार्य ##
अशक्तको खेतीमा अर्ब खर्ब कमाउने ।
अशक्तले अँध्यारोमा जीवन बिताउने ।।
अशक्तको खेतबारीमा अर्ब खर्ब फलेको ।
बलियाले दमन गरी सबै टिपेको ।।
अशक्तलाई दमन गरी तिनकै खेतमा रमाउने ।
बलियाले तिनकै टाउका बेची कमाउने ।।
अशक्तको जिन्दगानी उज्यालोमा भेटिनँ ।
खोजे पनि विकासमा केही भेटिनँ ।।
मूलको पानी अशक्तले पिउने हक खोसियो ।
अन्धकारले रस्सी लायो घाटी कसियो ।।
अर्ब खर्ब बहुत आयो अशक्तको नाउँमा ।
तर मलम लगाएन दुख्या घाउमा ।।
अर्ब खर्ब कहाँ गयो अशक्तका नाउँको ।
दरिद्रले किन सुन्थे आवाज पीडितको ।।
अशक्तलाई अति भयो अत्याचार विचार ।
कहाँ गई पाउने होला न्यायको संसार ।।
अशक्तको खेती खोस्ने बसे ठुला चैनमा ।
बराबरी किन हुन्न देशका एैनमा ।।
अशक्तताको तागत खाने अर्ब खर्ब कमाउने ।
अशक्तले एक घुट्को पानी नपाउने ।।
जता पनि असजिलो खानुपर्ने ठक्कर ।
ठक्कर खानुपर्ने जीवन न्याय हुन्छ र ।।
अर्ब खर्ब कहाँ गयो अशक्तका खेतीको ।
नदेखेको किन होला जीवन क्षतिको ।।
अशक्तको अर्ब खर्ब सुती सुती खाने ।
अशक्तको संसार यही भन कहाँ जाने ।।
घाम जुन साक्षी छन् है अर्ब खर्ब खाए ।
अशक्तले जहाँ पनि पीडा दमन पाए ।।
सेतो छडी जता पनि बाटो खोज्दै चल्छ ।
जिन्दगानी सङ्घर्ष हो अघि बढ् भन्छ ।।
त्यसको दर्शन बाटोबाट मैले चल्नुपर्छ ।
सेतो छडी हिँड भन्छ कालो संसार ढल्छ ।।
अर्ब खर्ब खानेहरू भुलाउन खोज्छन् ।
कल्पनाको संसारमा डुलाउन खोज्छन् ।।
अशक्तको अर्ब खर्ब विकासमा लाउने ।
अर्ब खर्ब खानेलाई किन लुट्न दिने ।।
जता पनि असजिलो किन पारेका छौ ।
हाम्रा नामको अर्ब खर्ब किन खाएका छौ ।।
हाम्रा नामको अर्ब खर्ब घडेरीमा गयो ।
सहरको सत्य मन आँसु झारिरह्यो ।।
अशक्तको अर्ब खर्ब सहरले देख्यो ।
भनौँ भने पिट्छन् मार्छन् हृयमा लेख्यो ।।
वैशाखीमा हिँड्नेहरू विचारमा हिँड् ।
अर्ब खर्ब खानेसँग दह्रो गरी भिड ।।
सङ्घर्षले भन्छ हिँड् अर्ब खर्ब खोज ।
बाटाहरू अनेक छन् सङ्घर्षलाई रोज ।।
एक छाक हैन जीवन जुनी बाँच्नुपर्छ ।
मन भएका मान्छे हामी साँच्चै बन्नुपर्छ ।।
अर्ब खर्ब खाका छाती गुड्ने कुर्सी गुड ।
कृतिम अङ्ग लाउनेहरू सङ्घर्षमा हिँड ।।
खै त हाम्रो अर्ब खराब आयो कहाँ गयो ।
ओछ्यानमा सुत्ने उठ खोज्न ढिला भयो ।।
आमाबाबु सबैसँग साथमा मागेका छौँ ।
अर्ब खर्ब कहाँ गयो खोज्न हिँडेका छौँ ।।
पुलिस आर्मी हामीलाई लौरो नहान्नू है ।
हान्न आदेश दिन्छ भने उतै बजार्नू है ।।
सङ्घर्षमा नहिँडी त हुँदै भा’को छैन ।
भत्काउने हो अर्ब खर्ब खाई बसेको चैन ।।
बैराहरू सुनेका छन् सङ्घर्षका कुरा ।
चुप लागेर बस्ने छैनन् आँटी मनका सुरा ।।
सहरका हृदयलाई हाम्ले पढेका छौँ ।
पढेर त अर्ब खर्ब खोजी गरेका छौँ ।।
अशक्तको अर्ब खर्ब खाई महल बने ।
अन्धकारमा जीवन बिता हाम्लाई किनभने ।।
सेतो छडी भन्छ सुन रोई रोई नबाँच् ।
सङ्घर्षलाई जीवन दिए मुक्ति हुन्छ नसाँच् ।।
दह्रो गर कलमको सानो चुच्चोलाई ।
अशक्तको अर्ब खर्ब खाने घोच्नलाई ।।
सङ्गिनले के रोप्ला र कलमले रोप्छ ।
सेतो छाडी चम्किलो छ धेरै पर देख्छ ।।
आँखा बन्द नगर्नू है सेतो छडी तैँले ।
भर परी हिँडेको छु विश्व जित्न मैले ।।
अशक्तको जिन्दगीलाई भाग्यवादको हातमा ।
अर्ब खर्ब कमाउनेले मारे तिनको आत्मा ।।
जन्मेपछि खाने लाउने मानिसको हक ।
तर यहाँ अशक्तको खोसिएको हक ।।
मानिसले ठगेको हो भाग्य ठग्न आएन ।
अशक्तलाई गरिखाने ठाउँ दिएन ।।
न त बोल्छ समाजले न त बोल्छ घरले ।
कहिले हो त बाँच्न पाउने स्वाभिमानले ।।
ठेस दोष संसार समाज अशक्तको जीवनमा ।
घोचपेचको पीडा थप्ने झनै पीडामा ।।
हरहमेशा पिट्छ पिर्छ मान्छे दोषी मनको ।
अपमान अति भयो मानवका खुनको ।।
अशक्तका शरीरमा पनि खुन बग्छ ।
बल हुनेले भौतिक वस्तु एक्लै भोग्दा जल्छ ।।
आँखाहरू तलभन्दा हेर्छन् आकाशमा ।
बल हुनेले कुच्छन् मिच्छन् मानवका तनमा ।।
अशक्तको तन मन केही पनि हैन ।
राज्य देश बल हुनेलाई अशक्तलाई छैन ।।
मनपरीको मान्छे यहाँ किन भयो होला ।
अशक्तलाई थिचोमिचो किन गर्या होला ।।
कहाँबाट कसरी पो बस्यो दुष्ट भाव ।
मनभरि दुष्ट भाव राख्दा केको लाभ ।।
रगतमा घुलिएर बग्छ दुष्ट भाव ।
संसार हेर्ने सफा नयन दुष्ट बनाइदिन्छ ।।
मनभरि सिस्नु काँडा क्यारी फाल्ने होला ।
हर क्षण हर पल सङ्घर्षले होला ।।
कति गर्नु सङ्घर्ष नि जता हेर्यो बाधा ।
बाधाबाट जिन्दगानी भएको छ आधा ।।
अशक्तको जिन्दगानी सिङ्गो हुने कैले ।
जता पनि हिलो माटो देखेको छु मैले ।।
नबनेको जगमाथि घर क्यारी बन्ला ।
दुष्ट नीति अशक्तलाई मान्छे कहिले भन्ला ।।
कैले आउला सेतो छडी लम्की हिड्ने दिन ।
भन्न कहिले पाउने होला बाधा कहिँ छैन ।।
त्यही संसारमा मात्र आउँछन् अशक्तका दिन ।
त्यही संसार भन्छ सुन सत्य सुन भन ।।
मनभरिका बाधा फाली सत्य कुरा गुन ।
अशक्त हो संसारलाई सत्य कुरा भन ।।
जिउँदासँग मसानघरका मुर्दा किन बोल्थे ।
मुर्दाहरू अशक्तका पीडा किन सुन्थे ।।
मुर्दाहरू निदाइरहुन् हामी उठ्नुपर्छ ।
हक खोस्न उठ्नेलाई अब कसको डर छ ।।
मन मरेका मुर्दासँग मानवता हुन्न ।
असत सुन्छ सत्य सुन्न बोल्न रुचाउँदैनन् ।।
मानवताको खोजी गर्नु सङ्घर्ष हो हाम्रो ।
हामी भन्छौँ हाम्रो संसार क्यारी होला राम्रो ।।
अशक्तको हराभरा जीवन भा’को दिन ।
कति हाँस्ला हिमालले छक्क परिकन ।।
घाम भन्छ अशक्तको अर्ब खर्ब खाए ।
जुन भन्छ अशक्तले पाउनु दुःख पाए ।।
जुन घाम देखेका छन् अशक्तको पीडा ।
अर्ब खर्ब कति खान पल्केका छन् छाडा ।।
अशक्त छन् अन्धकारमा बाटो नदेखेर ।
सङ्घर्षको सही विचार चिन्दै नचिनेर ।।
बिहानको घाम आई भन्दिए नि हुन्थ्यो ।
चन्द्रमाले राती फाल्ने कला दिए हुन्थ्यो ।।
अशक्तको अर्ब खर्ब बहुत गरे चैन ।
यो व्यभिचार नफाली त हुँदै भा’को छैन ।।
सहिसक्नु हेरिसक्नु नभएर हो नि ।
अर्ब खर्ब खाको हेर्दाहेर्दै गयो जुनी ।।
जीवन खेर फाल्न मन कसलाई हुन्छ भन्न ।
न्याय भए सङ्घर्षलाई कसले डाक्छ भन ।।
सङ्घर्षको राँको बाल्ने रहरले हैन ।
अशक्तको अर्ब खर्ब किन गर्ने चैन ।।
अशक्त छन् सुन मान्छे आँसु पोखरीमा ।
अशक्तको अर्ब खर्ब हेर विलासमा ।।
काम नगरी अर्ब खर्ब खाने मान्छे हैन ।
झड्कादार सङ्घर्षले तिनलाई राख्ने हैन ।।
समाजले चाहेको छ नयाँ गति लिन ।
अर्ब खर्ब नखा हाम्रो अशक्तले भन ।।
मनभरिका बाधा फाली सत्य कुरा गुन ।
अशक्त हो संसारलाई सत्य कुरा भन ।।
जिउँदासँग मसान घरका मुर्दा किन बोल्थे ।
मुर्दाहरू अशक्तका पीडा किन सुन्थे ।।
मुर्दाहरू निदाइरहुन् हामी उठ्नुपर्छ ।
हक खोस्न उठ्नेलाई अब कसको डर छ ।।
मन मरेका मुर्दासँग मानवता हुन्न ।
असत सुन्छ सत्य सुन्न बोल्न रुचाउँदैनन् ।।
मानवताको खोजी गर्नु सङ्घर्ष हो हाम्रो ।
हामी भन्छौँ हाम्रो संसार क्यारी होला राम्रो ।।
अशक्तको हराभरा जीवन भा’को दिन ।
कति हाँस्ला हिमालले छक्क परिकन ।।
घाम भन्छ अशक्तको अर्ब खर्ब खाए ।
जुन भन्छ अशक्तले पाउनु दुःख पाए ।।
जुन घाम देखेका छन् अशक्तको पीडा ।
अर्ब खर्ब कति खान पल्केका छन् छाडा ।।
अशक्त छन् अन्धकारमा बाटो नदेखेर ।
सङ्घर्षको सही विचार चिन्दै नचिनेर ।।
बिहानको घाम आई भन्दिए नि हुन्थ्यो ।
चन्द्रमाले राती फाल्ने कला दिए हुन्थ्यो ।।
अशक्तको अर्ब खर्ब बहुत गरे चैन ।
यो व्यभिचार नफाली त हुँदै भा’को छैन ।।
सहिसक्नु हेरिसक्नु नभएर हो नि ।
अर्ब खर्ब खाको हेर्दा हेर्दै गयो जुनी ।।
जीवन खेर फाल्न मन कसलाई हुन्छ भन्न ।
न्याय भए सङ्घर्षलाई कसले डाक्छ भन ।।
सङ्घर्षको राँको बाल्ने रहरले हैन ।
अशक्तको अर्ब खर्ब किन गर्ने चैन ।।
अशक्त छन् सुन मान्छे आँसु पोखरीमा ।
अशक्तको अर्ब खर्ब हेर विलासमा ।।
काम नगरी अर्ब खर्ब खाने मान्छे हैन ।
झड्कादार सङ्घर्षले तिनलाई राख्ने हैन ।।
समाजले चाहेको छ नयाँ गति लिन ।
अर्ब खर्ब नखा हाम्रो अशक्तले भन ।।
यति ठुलो धरणीमा नअटाउने किन ।
कहाँ छ खै मेरो ठाउँ मैले भेट्या छैन ।।
मेरो भनी हिँडौँ भने ठक्करले ठोक्ने ।
समस्याका दाँत तिखा जता पनि टोक्ने ।।
घाउ खपेको घाइते म हुँ मलाई हेरे पुग्छ ।
मेरो घाउले संसारको पीडित पीडा बोल्छ ।।
त्यै पीडित मनलाई मान्छे दुःख दिन्छ ।
साझा हाम्रो धरणीमा मिली बाच्नुपर्छ ।।
दमनको घाइते मन बोकेको छु मैले ।
ठक्करको कहर सही बाँचेको छु मैले ।।
दमनको नमिठो मन बोकेको छु मैले ।
नुनसँगै आँसु सितन झारेको छु मैले ।।
बिसाऊँ भने छैन ठाउँ कति बोक्नु मैले ।
दमनको मन बोक्ने मुक्ति पाउने कैले ।।
दमनको मनको भारी बोक्दा थाकेको छु ।
दमनले कहर दियो बोकी हिँडेको छु ।।
कठोरसँग नसकेर मैले हारेको छु ।
बारम्बार म बाटोमा लड्दै हिँडेको छु ।।
ठक्करले चोटहरू कति दिने होला ।
चोटैचोटको जिन्दगानी अझै बोक्नुपर्ला ।।
दमनको मनले खायो हिम्मतिलो मन ।
दमनले खायो मन कहाँ जाऊँ भन ।।
दमनले छेक्यो घाम मेरो संसारको ।
दमनले मन खायो मेरो विचारको ।।
मान्छे बेच्ने युग गयो रूप फेरि आयो ।
अशक्तको अर्ब खर्ब बलियाले खायो ।।
धर्म कर्म जे भने नि तिनै ठगिएका ।
विज्ञान र मनोविज्ञान तिनै चुसिएका ।।
आफन्त या पराइ भन देखिनसहेका ।
समाज र देशबाट तिनै पीडित भा’का ।।
यतिसारो शोषणमा पर्नुपर्ने किन ।
त्यसैले त अशक्त हो सङ्घर्षमा हिँड ।।
यो चेतना लैजा घाम तैले पुग्ने ठाउँमा ।
अर्ब खर्ब खाए भन्दे अशक्तको नाउँमा ।।
जगाइदिनू जुटाइदिनू सङ्घर्षमा आउँछन् ।
अर्ब खर्ब खानेसँग इख फेर्न आउँछन् ।।
यो धर्तीका कुना कुनासम्म पुराइदिनू ।
निराशाका बस्ती मनलाई तैले जगाइदिनू ।।
ठट्टा हैन घामका किरण साँचो बोलेको छु ।
म पनि त बाँचे पनि थला परेको छु ।।
हातबाट सेतो छडी मैले छोड्या छैन ।
हिँड्दै जान्छु जहाँ पुग्छु हार खाएको छैन ।।
बाधाहरू घेर्न आउँछन् मान्छे हेर्न आउँछन् ।
असजिलो पर्दा पनि खित्का छोडी हाँस्छन् ।।
मनोरञ्जन हुन सक्छु सङ्घर्षको यात्रा ।
म हिँडेको हेर्न आउँछन् कहिँ नभा’को जात्रा ।।
मेला लागोस् जात्रा लागोस् यात्रा भुल्ने छैन ।
सङ्घर्षको बत्ती हुँ म त्यसै निभ्ने छैन ।।
अर्ब खर्ब खानेलाई हामीले पालेका हौँ ।
सुनिने छ कुनै दिन हाम्ले ढालेका छौँ ।।
थोरै पनि हाम्रो भागमा नआएको किन ।
जवाफ दिनुनपरेको किन होला भन ।।
मनपरीको देशलाई मनपरीको नीति ।
त्यसैले त अशक्तलाई हुन गयो क्षति ।।
अकालमा मरिन्छ कि जस्तो लागेको छ ।
जता पनि असजिलो घेरिरहेको छ ।।
पाइला सारौँ ठाउँ छैन हिँड्न मन लाग्छ ।
पाइला सार्न गाह्रो संसार फेर्न मन लाग्छ ।।
हामी मात्र सुखी हुने कसले भन्या हो र ।
देश संसार हाम्रो मात्रै कसले भन्या होला ।।
हामी देख्छौँ संसारमा धेरै मान्छे दुखी ।
नठान्नू है अशक्त हो हामी मात्रै हो कि ।।
संसारको सुख खोजी हामीले गर्नुपर्छ ।
हामी जस्तै पीडितसँग मिल्न जान्नुपर्छ ।।
मिलिकन ज्वालामुखी बनी फुट्नुपर्छ ।
अर्ब खर्ब खानेको जाल तोड्दै हिँड्नुपर्छ ।।
चिच्याउने रहर हैन बाध्य पारेका हुन् ।
बाध्य पारे पीडित मिल्न बाटो खोलेका हुन् ।।
अर्ब खर्ब नखोसी त म फर्किने छैन ।
अशक्तको हक नलिई लड्न छोड्ने छैन ।।
माया गर्ने मानिसलाई माया गर्नुपर्छ ।
घृणा गर्नेहरू बाट टाढा बस्नुपर्छ ।।
नदी कहिले सङ्लो बग्छ कैले धमिलोमा ।
त्यै नदी झैँ हुन्छ मन हिँड्दा सङ्घर्षमा ।।
मान्छे भेट हुन्छ अनेक हुन्न सबै मनको ।
बाटो सहज छैन हेर तेज घाम जुनको ।।
सङ्घर्षको पाठशालामा पढ्दै सिक्दै जाऊँ ।
अशक्तलाई विचारको पथ तिर ल्याऊँ ।।
अर्ब खर्ब खानेहरू आउन दिने छैनन् ।
अशक्तलाई मुक्तिगीत गाउन दिने छैनन् ।।
बाधा दिने अन्धकार मिल्काएर आऊ ।
हैन भने दुखिराख्छ जीवनभरि घाउ ।।
मलाई तनावको मैदान नबनाऊ ।
दिमागलाइ सैतानको घर नबनाऊ ।।
हाम्रा नाउँको अर्ब खर्ब खाने हाम्रा घाती ।
किन दिने घातिलाई टेक्न हाम्रो छाती ।।
अशक्त हो गनाएर अब बस्नु हुन्न ।
हिमालले जाग भन्छन् नजागेर हुन्न ।।
गनाएका दिनहरू सम्झनामा रुने ।
हैन हार्ने अब नयाँ सुखी जीवन जिउने ।।
लक्ष्य कुँजो पार्नेहरू माटो बन्नुपर्छ ।
अशक्तले विकासको शिखर चढ्नुपर्छ ।।
मानिसको छेउमा बस्न नपाएको मैले ।
खिसिट्युरी अपमान पाएको छु मैले ।।
कहिले लाग्छ मान्छेबाट अझै पर जाऊ ।
मानिसको हृदयमा छैन मलाई ठाउँ ।।
अर्ब खर्ब खेती जाँदा मन मेरो रोयो ।
हृदयको रुखो मान्छेको आएर छोयो ।।
संसार यति रुखो भयो मन हृदय छुन्न ।
अर्ब खर्ब खोसी खाँदा मलाई चिम्टी दिन्न ।।
जसरी नि मेरो धरती खुसी लिनुपर्छ ।
लाखौँ मुक्त गर्न हिँड्ने मलाई कसको डर छ ।।
सेतो छडी चम्चमाउँदै चारैतिर हिँड्यो ।
अन्यायलाई कुच्दै मिच्दै गुड्ने कुर्सी गुड्यो ।।
बहिराले अर्ब खर्ब खेती खा’को देख्यो ।
अन्यायलाई राख्नुहुन्न हृदयमा लेख्यो ।।
सुस्ता भन्ने मानिसले सल्बलाई हिँड्यो ।
रोकिँदैन अशक्तको गति अघि बढ्यो ।।
अर्ब खर्ब खेती खा’को अब हेरिँदैन ।
जागरणले छोएको छ अब टेरिँदैन ।।
खानुसम्म खाए खुन तनमा दाँत गाडी ।
अशक्तले ल्याउनुपर्छ विद्रोहको बाडी ।।
म्याउ बिरालो बनीकन अब बस्ने है ।
अड्कलेको अधिकार अब चाहिँदैन ।।
हाम्रा लागि समाज हो समाजलाई हामी ।
लगाएका बारहरू फाल्दै आयौँ हामी ।।
कति बस्नु अन्यायमा मुटु मिची मिची ।
अशक्तको अर्ब खर्ब खाए कोची कोची ।।
साझा संसार भेदभावको थलो बन्यो किन ।
भेदभाव भयो र त सङ्घर्षमा हिँड ।।
सफा मन सुमनले फुली डुल्ने कैले ।
अशक्तमा सुमनाको मन हुने कैले ।।
हिमाल चढ् जति पढ् अशक्तको लेखो ।
अन्यायमा परेकालाई भन कस्ले देख्यो ।।
आफ्नो पथमा आफै खनी जीवन हिँडाउने हो ।
संसारमा अशक्तको दिन फिराउने हो ।।
विनाशमा मान्छे जाँदा दुख लागेको छ ।
पिनासको पीडा जस्तो संसार बनेको छ ।।
बहिरालाई नसुनेको कसले भन्न सक्छ ।
ओछ्यानमा सुत्नेलाई काममा ल्याउनुपर्छ ।।
काममा मात्र होइन अब घाममा ल्याउनुपर्छ ।
समयको गति भन्छ उठ्नु जाग्नुपर्छ ।।
सबै मान्छे विकासमा आय कति राम्रो ।
अर्ब खर्ब खाने मान्छे छ दिलको चाम्रो ।।
त्यही मान्छे भयो बाधा देश संसार बन्न ।
सङ्घर्षको नीति भन्छ त्यस्ता राख्नुहुन्न ।।
ठुला रूपको तप्केनीमा सानो रुख मर्छ ।
सङ्घर्षले दिन्छ न्याय बराबरी गर्छ ।।
अहङ्कार अति भयो सम्पत्तिको नाउँमा ।
सत्यको त हत्या भयो सम्पत्तिको दाउमा ।।
सेतो छडी धर्तीभरि डुलाउँदै लैजा ।
बाँझो मनको संसारमा फूल फुलाउँदै लैजा ।।
देश भाका मानिसलाई देश देखाइदिनू ।
सेतो छडी तैले अघि बढ्दै बढ्दै जानू ।।
तँलाई देख्दा मनहरू धेरै टाढा भाग्छन् ।
नजिक आए भने तिनी मुखले टारिदिन्छन् ।।
तँलाई हक दिन कोही आँट गर्ने छैनन् ।
भर नपनूु यो देशमा मान्छे मनका छैनन् ।।
कस्तो मन हो तँप्रतिको कठोर हुनुपर्ने ।
कस्तो मनको रहस्य हो पर भाग्नुपर्ने ।।
सेतो छडी हास्यपात्र किन ठान्नुपर्ने ।
सेतो छडी देख्दा मान्छे किन हास्नुपर्ने ।।
निजी मनले छोड्ने छैन जहाँ गए पनि ।
नीतिभित्र निजी मन पसी भयो धनी ।।
स्वतन्त्रको तर पनि निजी मनले खायो ।
जहाँ गए पनि भन्छन् हेर माग्न आयो ।।
सेतो छडी तेरो देश बनाउनु छ तैँले ।
मानिसको मन दमनमा नपनूु है तैँले ।।
लाखौँ बाधा तेरासामु आइलागेका छन् ।
लाखौँ खाल्टा तेरा अघि खनिरहेका छन् ।।
लाखौँलाख चुनौतीले तँलाई चुसेका छन् ।
लाखौँ हिंस्रक मनका जन्तु तँलाई डसेका छन् ।।
फुल्न खोज्यो जिन्दगीका हाँगा भाँचिदिन्छन् ।
यति मात्र कहाँ हो र टुक्रा टुक्रा पार्छन् ।।
नबिराउने मानिसले यति सास्ती भोग्ने ।
न पिरेका मानिसले अपमान खप्ने ।।
जति पायो त्यति लिए जति दियो खाए ।
त्यस्ता मान्छे किन होला अति हेला भए ।।
शिर उठाई हिँडौँ भने उठाउन दिन्नन् ।
शिर उठाई हिँड्दा बाधा झनै चर्काइदिन्छन् ।।
खटनमा चल्नुपर्ने खटाएको खाने ।
बलियाको हातमा जीवन जिउन गारो पर्ने ।।
बलियाको पक्ष लिन्छ समाजको धार ।
यस्तो देख्दा लाग्छ जीवन हामीभित्र छ र ।।
हातखुट्टा दिमाग नजर केही चल्नुहुन्न ।
बोल्नलाई ओठ जिब्रो केही चल्नुहुन्न ।।
बल हुनेलाई अशक्तले बोले पनि छुन्न ।
देशसँग न्याय मागौँ देशले पनि दिन्न ।।
संसारमा सचेत हावा चलेन कि क्या हो ।
अशक्तको दुख कहिल्यै मेटिन्न कि क्या हो ।।
अशक्तको अर्ब खर्ब खाने सुखी हुने ।
अशक्तलाई पारेका छन् जीवनभरि रुने ।।
अशक्तले जहाँ पनि बेवास्तामा परे ।
तिनकै खेती खानेहरू अभिमान गरे ।।
तँप्रतिको निच भाव नजर मन दिलमा ।
तँलाई तल पारेका छन् नीति निर्माणमा ।।
अशक्तलाई तल दमन अर्ब खर्ब खाने ।
आसक्तलाई माथि जानबाट खुट्टा तान्ने ।।
विचारको लडाइँमा अशक्तले जित ।
त्यहीँबाट हुन्छ मुक्ति अशक्तको हित ।।
सकेजति बल झिक्ने बेला आयो झिक ।
आवाज र चेतनाको सङ्घर्षले ठोक ।।
जिन्दगानी बाँचे जस्तो बनाउने हो बन्छ ।
भेदभाव नभएको देश संसार बन्छ ।।
कामनाले मात्र हुन्न लागिपर्नु पर्छ ।
कोही आई बनाइदिन्न आफै तात्नुपर्छ ।।
मानवजाति बराबरी हुने नीति चाहियो ।
बराबरी नभएर सारै दुख पाइयो ।।
मानवजाति सबै शक्त हुने दिन ल्याऔँ ।।
उठ जाग सचेत हो सङ्घर्षमा जाऔँ ।
हाम्रो देश हाम्रो समाजसँग माग्नुपर्ने ।
आशा गर्दै जीवन जान्छ फल कैले झर्ने ।।
देख्ने भोग्ने जीवनलाई निराशाको नर्क ।
सही बाटो सही विचार सङ्घर्षमा फर्क ।।
अशक्त हो जिन्दगी छ तर पछि पर्याे ।
अर्ब खर्ब खानेले त खतरा पो गर्यो ।।
अशक्तलाई असतीले खेलाउँदै आए ।
आजसम्म अशक्तले सेलाउँदै आए ।।
अशक्त सारा उर्लिए ठग्नेको जाल तोडिन्छ ।
सुन्दर संसार हाम्रै हो सुन्दर बिहान झुल्किन्छ ।।
हामीले आँटे बादल गइजान्छ सारा फारेर ।
आउँछ सुन्दर बिहानी कालो अँध्यारो चिरेर ।।
कल्पना हैन योजना देश हो हामी बनाउने ।
हातमा देश लिएर सुन्दर सफा सजाउने ।।
जिन्दगी छोप्यो नाराले अब त हामी सहिन्नँ ।
रमाइलो संसार हाम्रै हो अँध्यारोभित्र बसिन्नँ ।।
हेप्नेको तागत तोडेर सुखको बाटो जाने हो ।
झिम्रिक्क बनी बसिन्न वसन्त बहार ल्याउने हो ।।
घरका चिसा कुरालाई बासी बनाई बढ्ने हो ।
उठ जाग अशक्त कम्मर कसी लड्ने हो ।।
सङ्गिनको धारले हामीलाई कहिल्यै छोड्दैन ।।
नछोडेको धारलाई नभाँची त हुँदैन ।
अर्ब खर्ब बसेको छ सहरको मुटुमा ।।
दुःख जति बसेको छ तिनको जीवनमा ।
मानिस भई मान्छेभन्दा पर हुने किन ।
सबैलाई आउनुपर्छ समानताको दिन ।।
अर्ब खर्ब हसुरेका अझै भोका भए ।
पाएजति सबै खाने अग्नि तिनै भए ।।
खन्चुवाको खाने आगो निभाउनुपर्यो ।
अशक्तलाई पीडाबाट मुक्त गर्नुपर्यो ।।
संसारमा सुखी हुने दिन पक्कै आउँछ ।
हार खाएर हुन्न तर लड्दै जानुपर्छ ।।