हिसार । रोल्पाका एक युवकको भारतको हिसारमा मृतयु भएको छ । रोल्पाको रुन्टिगरी गाउँपालिका–५ ढुबिडाँडाका लछी थापाका छोरा ४० वर्षीय दामोदर थापाको आफ्नै कोठामा मृत्यु भएको हो ।
मंगलबार (२८ डिसेम्बर) कोठा भित्रबाट कुन्डा (चुकुल) लगाएको अवस्थामा उनी बेहोस देखिएपछि स्थानीयले नजिकैको अर्बन स्टेट प्रहरी चौकीमा सूचना गरेका थिए । प्रहरीले ढोका खोलेर हेर्दा मदिराका बोतलको साथमा किटनाशक विषादीका बोतलसमेत फेला परेको थियो ।
उनलाई हिसारको सरकारी अस्पतालमा लगिएको थियो । चेकजाँचका क्रममा डाक्टरले उनको मृत्यु भएको पुष्टि गरेका थिए ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजले दामोदरको परिवारसँग सम्पर्क गरी स्थानीय प्रशासनको सहयोगमा बुधबार दाहसंस्कार गरेको छ ।
नेपालमै रहेका मृतकका श्रीमती एवम् छोराहरुसँग भिडिओ कलबाट सम्पर्क गरी दाहसंस्कारमा समावेश गराइएको मूल प्रवाहका केन्द्रीय सल्लाहकार तारा सोमरेले जानकारी दिनुभयो ।