राजविराज । राजविराजबाट एक बालिका चोरेर लैजान खोज्ने भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको पश्चिम बंगाल राज्यको सिलिगुरी ठेगाना बताउने ५० वर्षीय विनोद साह रहेको प्रहरीले जनाएको छ ।
प्रहरीले उनका साथबाट एक थान मोबाइल र पूजामा प्रयोग हुने एक थान घण्टीसमेत बरामद गरेको छ ।
आज बिहान राजविराजस्थित पब्लिक बिन्देश्वरी माविमा कक्षा ३ मा पढ्ने ५ वर्षीय बालिका निशा चौधरीलाई लिएर जाँदै गरेको अवस्थामा स्थानीयवासीलाई शंका लागेपछि उनलाई नियन्त्रणमा लिई प्रहरीसमक्ष बुझाएका थिए ।
सप्तरीको विष्णुपुर गाउँपालिका–७ निवासी मनिकलाल चौधरीकी ५ वर्षीया छोरी निशालाई विद्यालय जान लाग्दा बाटोमै चकलेट र १०० रुपैयाँको भारतीय नोट दिएर फकाएर लैजाँदै गर्दा सरस्वती टोल निजकैबाट स्थानीयवासीको सहयोगमा ती भारतीय नागरिकलाई पक्राउ गर्न सफल भएको वडा नं ५ का अध्यक्ष समीर झाले जानकारी दिए ।
मंगलबार पक्राउ परेका बिनोद साहले मानसिक सन्तुलन गुमाएको जस्तो देखिएको प्रहरीको भनाई छ । बंगाली भाषा मात्रै बोल्ने साह साह साँच्चै मानसिक सन्तुलन गुमाएका हुन् वा नाटक गरेका हुन् भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ ।
यसअघि गत कात्तिक १४ गते पनि हनुमाननगर कंकालिनी नगरपालिका–४ स्थित आफ्नो मामाको घर आँगनमा खेल्दै गरेकी एक ६ वर्षीया बालिकालाई चकलेट र बिस्कुटको प्रलोभन दिई साइकलमा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई भारतीय नागरिक पक्राउ परेका थिए ।
पक्राउ परेका भारत विहार राज्यको सुपौल जिल्ला निवासी २० वर्षीय आनन्द गोश्वामी र २२ वर्षीय अमीर झा अहिले पनि अनुसन्धानको सिलसिलामा जिल्ला प्रहरी कार्यालय सप्तरीमा राखिएको प्रहरीले जनाएको छ ।