काठमाडौँ । नेपालमा हालसम्म कोरोना विरुद्धको दुई करोड मात्रा खोप लगाइएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोना विरुद्धको खोप दुई करोड मात्रा लगाइएको बताउनुभयो । उहाँका अनुसार दुई करोड दुई लाख ३४ हजार ८२२ मात्रा खोप लगाइएको छ ।
तीमध्ये एक करोड १० लाख ६६ हजार ४६४ जनाले एक मात्रा र ९१ लाख ६८ हजार ३५८ जनाले पूर्ण मात्रा खोप लगाएका छन् ।
सबभन्दा बढी शुक्रबार खोप लगाइएको छ । उहाँका अनुसार शुक्रबार तीन लाख २९ हजार ३२१ जनाले खोप लगाएका छन् । सरकारले दैनिक दुई लाख जनालाई खोप उपलब्ध गराउने व्यवस्था गरेको छ ।
सरकारले गत माघदेखि कोरोना विरुद्धको खोप अभियान सञ्चालन गरेको हो । अहिले सबै नागरिकलाई सरकारले खरिद गरेर र कोभ्याक्समार्फत ल्याएका खोप लगाउँदै छ ।
त्यस्तै, लक्षितमध्ये ५५.५ प्रतिशतले पहिलो मात्रा र ४६ प्रतिशतले पूर्ण मात्राको खोप लगाएका छन् । नेपालमा एक करोड ९९ लाख २२ हजार १६४ जनालाई खोप लगाउने सरकारको लक्ष्य छ ।
मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले दुई करोड ९४ लाख ५३ हजार ७३० मात्रा खोप आइपुगेको बताउनुभयो ।