नवलपरासी । राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री चित्रबहादुर केसीले नवलपरासीको देवचुली नगरपालिका–१६ रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको निरीक्षण गर्नुभएको छ ।
शुक्रबार नवलपुरमा आयोजित राष्ट्रिय जनमोर्चाको जिल्ला प्रशिक्षण भेलामा सहभागी हुन त्यसतर्फ गएका केसीले सो चिकित्सालयको निरीक्षण गर्नुभएको हो ।
अध्यक्ष केसीलाई चिकित्सालयका व्यवस्थापक हरि सापकोटा र डा. आजाद पुरीले स्वागत गर्नुभएको थियो ।

त्यसक्रममा अध्यक्ष केसीले सो सामुदायिक प्राकृतिक चिकित्सालयले नमूना काम गरेको भन्दै प्रशंसा गर्नुभयो । उहाँले कोभिड संक्रमणको चरम अवस्थामा समेत प्राकृतिक चिकित्सालयले उल्लेखनीय काम गरेको चर्चा गर्नुभयो ।
प्राकृतिक चिकित्सालयले बिरामीको उच्चतम सेवा गरेको भन्दै यसतर्फ सरकारले ध्यान दिनुपर्ने र आवश्यक सहयोग गर्नुपर्ने केसीले बताउनुभयो ।