काठमाडौं । आठ महिनापछि कोरोनाबाट आज कसैको पनि मृत्यु नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै, पछिल्लो २४ घण्टामा थप २४६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यस अवधिमा सात हजार ८३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।
यससँगै नेपालमा पीसीआर विधिबाट कोरोना परीक्षणपछि भएका संक्रमितको संख्या आठ लाख २२ हजार १७२ पुगेको मन्त्रालयले जनाएको छ ।
एन्टिजेन विधिबाट परीक्षण गर्नेको संख्या ९५ हजार ५६९ पुगेको छ । पछिल्लो समय थप ३४७ जना कोरोनाबाट निको भएका छन् । यससँगै निको हुनेको संख्या आठ लाख तीन हजार ७१६ पुगेको छ । निको हुने दर ९७ दशमलव सात प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
कोरोनाबाट हालसम्ममा मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ । कोरोनाबाट हुने मृत्युदर १.४ प्रतिशत रहेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या ६ हजार ९२१ रहेको छ ।
हाल होम आइसोलेशनमा छ हजार ५७९, संस्थागत आइसोलेशनमा ३४२, आइसीयुमा १०७ र भेन्टिलेटरमा ३४ जनाको उपचार हुँदैछ । त्यसैगरी पछिल्लो २४ घण्टामा एक लाख ७५ हजार ५६७ जनाले खोप लगाएको पनि मन्त्रालयले जानकारी गराएको छ ।