डा. गोविन्दप्रसाद आचार्य ##
भित्र बस भन्दाभन्दै भित्र बस्ने भैयो ।
हिँड्नुहुन्न भन्दाभन्दै नहिँड्ने पो भैयो ।।
के गर्ला भन्दाभन्दै काम नलाग्ने भैयो ।
घाम नलाग्ने कालकोठरी कुरी बस्ने भैयो ।।
बिरालोलाई सुरी भन्दै दुध र भात खायो ।
त्यै मान्छेको सन्तानले सराप गाली खायो ।।
भित्रबाहिर जता पनि बिरालो डुल्यो ।
मानिसको जिन्दगीलाई कोठाभित्र थुन्यो ।।
बिरालोको संसार ठुलो मानिसको सानो ।
त्यो संसारको कोठाभित्र छैन माया न्यानो ।।
बिरालोले पाउने माया मान्छे पाउँदैन ।
बिरालोले पाउँछ काख मान्छे पाउँदैन ।।
नछो नछो भन्दाभन्दै नछोई बस्ने भैयो ।
पर पर भन्दाभन्दै परै बस्ने भैयो ।।
तल तल भन्दाभन्दै तलै बस्ने भैयो ।
पर बसी बन्धनमा आँसु झार्ने भैयो ।।
धर्ती हाम्रो घर हुन नसकेको किन ।
दोष के छ गल्ती के छ दिल खोलेर भन ।।
मान्छे किन भयो होला घमण्डको भाँडो ।
बाजाहरू उठेका छन् बिज्न तिखो काँडो ।।
सीमावारि सीमापारि सात समुद्रपारि ।
घरभित्र मात्र हैन सात डाँडापारी ।।
मानिसको जातभन्दा हामी पर भयौँ ।
मन उज्यालो छैन भने अन्धकारमा गयौँ ।।
मानवताको पाठशालामा खै त बस्ने ठाउँ ।
देश धर्ती नभएका हामी कहाँ जाऊँ ।।
शासनले हामीलाई नदेखेको किन ।
हाम्रो आवाज सुन्नलाई नटेरेको किन ।।
प्रतिभाले साथ दिन्छ कोठाबाट उठ्छौँ ।
संसारले नरचेको इतिहास रच्छौँ ।।
कुटीपिटी शासनले धुलोपिठो पार्ला ।
देश धर्ती नभएका हाम्लाई मार्न सक्ला ।।
हामी मर्छौं हाम्रो आवाज मर्न दिने छैनौँ ।
अत्याचारलाई सजिलरी सास फेर्न दिन्नैँ ।।
जमिनमा टेक्न पाऊँ संसार देख्न पाऊँ ।
अन्धकारका कोठाभित्र बाट मुक्ति पाऊँ ।।
थोत्रा भए यी पाठशाला मानवताले पढ्ने ।
मानवता भए किन कोठाभित्र सड्ने ।।
अधिकार कसले दिन्छ खोसी लिनुपर्छ ।
देश धर्ती नभएकाहरू जुट्नुपर्छ ।।
कुराले त कमिलाले पनि संसार जित्छ ।
कमिलाको ताँती बरु एकताको हुन्छ ।।
न त हाम्रो राज्य देश न मायाको ठाउँ ।
जता जाऊँ नाकाबन्दी भन कता जाऊँ ।।
बोली मिठो पिँजडाको सुगा मैना राम्रो ।
हामी मान्छे खै त देश खै त राज्य हाम्रो ।।
बाटो खोजी हिँड्छौँ भने समाजको डर ।
हाम्रो किन नभएको न्याय पाउने घर ।।
अपमान मिठो हुन्न हाम्लाई दिने किन ।
यहाँभन्दा हाम्रो संसार कहाँ छ खै भन ।।
कोठाभित्र सडाएर राख्नु किन पर्यो ।
कसले देख्ने कोठाभित्र आँसु यति झर्यो ।।
माया पनि मानिसले बिलो लाउँछ किन ।
मानिसमाझ मुटुमा ठोक्छ किलो किन ।।
मेरो संसार खोसिकन बाँच्नु राम्रो होइन ।
कोठाभित्र आँसु झार्नु मानव न्याय हैन ।।
मानिसको संसारमा पीडा हुँदै हुन्न ।
मान्छे भए मानिसलाई किन भन्छन् छुन्नँ ।।
माटोढुङ्गा मात्र हैन मानिसको संसार ।
कोही भन्दैन कोठाभित्र आँसु नझार ।।
मानवताले लाउँदैन भेदभावको भाग ।
थोरै बाच्नुपर्छ भन्ने नगर है माग ।।
हामी भन्छौँ हाम्रो सुन्दर संसार खोस्ने भाग ।
सयौँ फूल फुले जस्तै फुल्ने हाम्रो माग ।।
यी आँसुका ढिक्का पनि गाँठो परी खस्छन् ।
आँसु ढिक्का गालामाथि गाँठो परी बस्छन् ।।
संसारमा होला के नै गाँठो नपरेको ।
मान्छे भन्छ आखाबाट आँसु खसालेको ।।
आँसु हैन समस्याको गाँठो खसालेको ।
तातोचिसो जे हो आँसु गाँठो खसालेको ।।
मूल बनी भुल्भुलाउँछ त्यै गाँठो भुलको ।
पानी पिए पनि गाँठो त्यो भुलभुले मूलको ।।
मानिसको माया गाठो आफ्नै छाया गाँठो ।
तर्साउने जीवन गाँठो विश्व वैभव गाँठो ।।
घरमै गाठो मनै गाँठो विज्ञान शब्द गाँठो ।
शब्द गाँठो अर्थ गाँठो बोल्ने वाक्य गाँठो ।।
अर्थ बोक्ने शब्दहरू झन् झन् जटिल गाँठो ।
मुखबाट उम्किएको लय बोली गाँठो ।।
गनाउने चिसो कोठा झन् दमनको गाँठो ।
गाँठो पनि सरल हो र झन् जटिल गाँठो ।।
जहाँ पनि समस्याले गाठो पारेको छ ।
त्यही गाँठोले चिसो कोठाभित्र मारेको छ ।।
गाठो हेर्दा कहिले पनि निकास पाइने छैन ।
चढाउने फुकाउने हार खाने हैन ।।
बाधाबाट विचलित कैले हुनुहुन्न ।
जीवन रहेसम्म गाँठो आइनलाग्ने हैन ।।
गाँठो फुकाई सिर्जनाको युग जगाउन उठौँ ।
हाम्लाई ठग्ने खराबीलाई चिहानमा पुरौँ ।।
अधमरा अधनालाई देश दिएर नासियो ।
अझै पनि यिनै रहे देश भासियो ।।
अशक्त हुन् भन्दाभन्दै झन् अशक्त पारियो ।
गणतन्त्र ल्याउने हाम्रो मूल्य हरियो ।।
छेउकुनासम्म भूमि पहाड मैदान फाँटका ।
झुटको खेती उखेल्नलाई उठ आँटका ।।
सर्जकहरूको संसारमा अशक्त भई बाँच्दैनन् ।
शासनले हेप्छ भने पनि सहन्नन् ।।
बल हुनेको बल चल्छ हक अझै थपी दे ।
हामी भन्छौँ चिसो कोठाबाट मुक्ति दे ।।
दुनियाँको हक खुल्दा हाम्रो किन खुल्दैन ।
बल हुनेको गणतन्त्र हाम्लाई हेर्दैन ।।
आसेगाँसे हैनौँ हामी न त आसेपासे हौँ ।
कोठाभित्र थुनिएका नागरिक हौँ ।।
हेपिने र थिचिनेमा हामीभन्दा को होला ।
अराजक शासनको कस्तो मन होला ।।
कमाउनुको धन्दामा छन् रक्षा ठेक्का लिएका ।
यो अँध्यारो चिसो कोठा खै त हेरेको ।।
आन्दोलनमा खट्न सक्ने अधिकारमा नअट्ने ।
मुटु दह्रो गरौँ चिसो कोठा नकुर्ने ।।
हाम्लाई पनि विकासको न्यानो घाम लाग्न दे ।
हराभरा जिन्दगानी हाम्लाई बाच्न दे ।।
सुर्के गाँठो कसिकन कोठाभित्र नमार ।
फुल्न देऊ उड्न देऊ शक्ति अपार ।।
डाक्टरको आन्दोलनले छिनमै गल्छ शासन ।
तस्तै तागत अशक्तले पनि जगाउन ।।
हर देशमा अशक्तले आन्दोलन गर्ने हो ।
मानवीय संसारको निर्माण गर्ने हो ।।
बहुदल र गणतन्त्र हाम्रो हुन सकेन ।
अन्धकार चिसो कोठा हाम्लाई छोडेन ।।
बहुदल र गणतन्त्र ल्याउन हाम्रो मूल्य छ ।
सत्ताधारी चिल चितुवा हाम्लाई खा’को छ ।।
पढे पनि सडकमा मागे गीत गाएर ।
लाज पचेका चितुवा खाए ठगेर ।।
हामी अघि लागेका हौँ बन्दुक गोली टेरेनौँ ।
भाँच्ने हिम्मत गरेका हौँ धन्नै मरेनौँ ।।
टाउकामाथि आज हाम्रा अलच्छिन चिल घुम्छन् ।
कोठाभित्र लुक्नेहरू नाइके बन्या’छन् ।।
हामी किन कुर्ने अब चिसो कोठा अँध्यारो ।
घाम जुन अस्त भए संसार अँधेरो ।।
उठ घाइते काइतेहरू देश चलाउन सकेनन् ।
यति छाडा संसारमा कोही भएनन् ।।
मुख पनि कत्रा होलान् गाँसमा देश खाइसके ।
गिद्धहरू परेवालाई टोक्ने भइसके ।।
चिसा कोठा उठ अब चर्काउने र थर्काउने ।
गिद्ध नाच्ने हैन देशमा न्याय पाउने ।।
न त हामी भागबन्डाको बिलो खाने परियो ।
प्रतिभाको अपमानमा हामी परियो ।।
दुच्छरहरू किन नहोला हाम्लाई तल पारेका ।
भागबन्डाको बिलोबाट पाखा पारेका ।।
नदेखे झैँ गरेका छौँ खतराको दिनमा ।
खतराका दिन जान्छन् आगो बनेमा ।।
सडकमा हामी आयौँ तब जनता आएको ।
बहुदल र गणतन्त्र हामीले ल्याएको ।।
कोठाभित्र चिसो मुटु गराई बस्या हैनौँ र ।
ओठमुख सुकाई कायर हार्या हैनौँ र ।।
बहुदल र गणतन्त्र अशक्तको तागत छ ।
यति मात्र कहाँ हो र रातो रगत छ ।।
अपमान गरेका छौँ अझै गर सहन्छौँ ।
अति हुँदा कालो शासन छिनमै ढलाउँछौँ ।।
झिक बल जुर्मुराऊ हाम्रो चिसो कोठाले ।
माग्ने हैन खोस्न जाग्ने देशमा ठाउँले ।।
चिल्ला गाडी गुडेका छन् हाम्रो रातो रगतमा ।
हाम्रो हालत मागिखाने भैयो सडकमा ।।
बिरालाको भर पर्दा कुँडेको दुध खाइदियो ।
अशक्तको प्रतिभालाई माग्ने पार्दियो ।।
न त हाम्रा कुरा सुन्छ न त नजर लाउँछ ।
हाम्रो देश हाम्रो धर्ती लुटी खा’को छ ।।
बन्द कोठा खुल्छ बोल्छ देश चलाउने तागत छ ।
नसा नसा हेर त्यहाँ तातो रगत छ ।।
राजीखुसी बन्द कोठाभित्र कोही सड्दैन ।
अन्धकारमा थुनिएर बस्न मन छैन ।।
जिन्दगीको स्वतन्त्रता बिथोल्ने र गिजोल्ने ।
अन्धकारका कोठाभित्र जीवन सडाउने ।।
अशक्तलाई थुनिकन कमाउने र रमाउने ।
शोषण गर्न जालझेलका कानुन बनाउने ।।
हाम्रो हातबाट धर्ती देश खोसी लइसकेको ।
वनसाङ्ला हाम्रो घरमा मालिक भइसके ।।
कोठाभित्र थुन्ने किन हाम्रो हुर्मत लिएको ।
अशक्तको हुर्मत लिई शासक बनेको ।।
दोष के छ देखाइदेऊ थुनी हुर्मत लिनलाई ।
शासनमा राख्यो देशले जुका किर्नालाई ।।
बन्द कोठा ब्युँझेका छन् देख्छन् आँखा सत्यको ।
हाम्रा घाइते अन्त्य गर्छन् छाती टेक्नेको ।।
कति मरे कोठाभित्र थुनिएर सडेर ।
लुटिखाने संसारको जालमा परेर ।।
देउताले लुट्या छैनन् लुट्ने शासन शोषणको ।
कतिन्जेल भर आसा लुटीखानेको ।।
दिनहरू यस्तै गए अझै खेर जाँदै छन् ।
ज्वालामुखी फुट्छ त अशक्तले हार्दैनन् ।।
जता हेर्यो उतै मान्छे दिलको निर्जन बन ।
निर्जन वनमा हाम्रो आवाज कसले सुन्ने भन ।।
कोही छैन भनौँ भने यति ठुलो संसार ।
शासन छ भनौँ भने अति व्यभिचार ।।
हर पाइलामा समस्याले ठेस लागिरहेको ।
हर बाधाले जिन्दगानी चुसिरहेको ।।
आकाशबाट आउँछ घाम हुन्छ वर्षा पानीको ।।
हुन्न वर्ष न्याय अनि अधिकारको ।।
मानवको न्याय कानुन चिसो कोठा हेरेन ।
युगौँ चिसो बन्द कोठा तात्न सकेन ।।
समाजले बाधा हाल्यो झनै कानुन बाधाको ।।
कहाँबाट बल्ल बत्ती समान न्यायको ।।
समाज कानुन बस भन्छन् बन्दा चिसो कोठामा ।
सङ्घर्षले आऊ भन्छ खुला सडकमा ।।
मानवको हित नगर्ने कालो शासन चाहिन्न ।।
खुल्नुपर्यो बोल्नुपर्यो भित्र बसिन्न ।
अशक्तलाई देखाएर कमाइखाने नगर ।
अशक्तले लुटेराको भर नपर ।।
नबोलेमा जान्छ जीवन बन्दा चिसो कोठामा ।
सङ्घर्षले ल्याउँछ बोल हाँसो ओठमा ।।
युगहरू ब्युँझिएका खुले बोले चलेर ।
सुतिरहे जान्छ जीवन माटो बनेर ।।
ठोकेका छन् छातीमाथि कानुनको किलो ।
यो अन्याय उखेल्नलाई भइसक्यो नि ढिलो ।।
थिलोथिलो पारेको छ जिन्दगानीलाई ।
बाहिर निस्क भन्दैन कोही कोठा कुर्नेलाई ।।
नसुन्नेले नसुने नि भन्नैपरेको छ ।
बोलीबाट यो कोठालाई फेर्नुपरेको छ ।।
भनिरहुँ सुनिरहोस् पीडितको धुन ।
त्यै धुनमा संसारको आवाज बोल्छ सुन ।।
बोलिरहुँ बोलिरहुँ बन्द कोठाभित्र ।
संसारले हेर्नुपर्छ अपमानको चित्र ।।
न त हाम्रो टेक्ने ठाउँ न त धर्ती धरातल ।
जे छ हाम्रो बन्द कोठा तर झिक्छौँ बल ।।
बन्द ढोका फोर्न कठिन आँट गरौँ फोरिन्छ ।
हामी उठे अन्यायको जरो मासिन्छ ।।
हाम्लाई न्याय अधिकार दरबारबाट आउँदैन ।
दरबारबाट थिचोमिचो शोषण बन्द हुँदैन ।।
रोइकराई जति गरौँ सुन्दै सुन्दैन ।
प्रष्टै भयो भ्रष्ट शासन हाम्रो हकमा हुँदैन ।।
भ्रष्टबाट हुँदैहुन्न ताबेदारी गरिन्नँ ।
संसार फेर्ने अभियानमा पछि हटिन्नँ ।।
फाल्नुहुन्न जीवन खेर कोठाभित्र सडेर ।
आवाज दिऊँ संसार बोल्छ साथ दिएर ।।
अपमान नगरेको मनको होला र ।
हाम्रो खेदो नगरेको संसार होला र ।।
कहाँबाट आयो होला खेदो गर्ने बानी ।
प्रकृतिलाई दोष दिऊँ सफा बग्छ पानी ।।
भन्छ किन मानिसले पर पर बस ।
हामी पर बस्दा मान्छे आउँछ केको रस ।।
कति लाउँला कति खाउँला यै ज्यान हो हाम्रो ।
सँगै बसे सुन्दर संसार हुन्छ अति राम्रो ।।
भोलिलाइ साँच्नुपर्ने हामी अन्न होइनौँ ।
कोठाभित्र थान्को लाउने भुसको रास हैनौँ ।।
बिग्रिएका वस्तु हैनौँ भत्किएका छैनौँ ।
यै धर्तीको पानी पिउँछौँ हामी भिन्न छैनौँ ।।
चरा जस्तै सिर्जनाको डाली डुल्न पाऊँ ।
असारमा खेत गई आली लाउन पाऊँ ।।
खै त मान्छे हाम्लाई कुटो फूल रोप्ने मन छ ।
गाह्रो भयो कोठाभित्र बाहिर डुल्न मन छ ।।
संसारले हेर्न हुन्छ हाम्ले रोप्या फूल ।
कोठाभित्र बस भन्नु हुने भयो भुल ।।
बनाएको किन मान्छे भुलैभुलको संसार ।
दिलैदेखि फाल मान्छे विनाशको विचार ।।
निसासिँदै कोठाभित्र हामी किन बस्ने ।
मानवीय संसारमा मान्छे सबै हाँस्ने ।।
अदालतमा जाऊँ भने आशा मर्यो न्यायको ।
के हेर्ला र चिसो कोठाभित्र रोएको ।।
हिउँद लाग्यो चिसो कोठा झन् जाडोले खा’को छ ।
आगो ताप्ने अधिकार हराएको छ ।।
संसारमा अशक्तको अदालत कहाँ होला ।
हुने खाने धनीमानी न्याय के देला ।।
हाम्रो देश भनौँ भने कोठाभित्र परियो ।
नभनौँ त जाडो भयो साँच्चै मरियो ।।
अशक्तलाई जिउँदै नमार गरिखाने ठाउँ दे ।
नसक्नेले नछो शासन हाँक्न हाम्लाई दे ।।
संसारलाई न्याय दिलाई हाक्ने हाम्रो तागत छ ।
सङ्घर्षले सिकाएको तातो रगत छ ।।
हामी सडक आ’का छैनौँ आउन बाध्य नपार ।
शासनमा पुग्छौँ हामी आँसु नझार ।।
शासनमा पुगेका हुन् हिजो हामीले पालेका ।
गनाउने लुगा लगाउथे दश ठाउँ टालेका ।।
हामीलाई अधिकार खोस्ने पाठ पढाउँथे ।
शासनलाई धुलोपिठो पार्न सिकाउँथे ।।
त्यही ज्ञान चेतनाले यिनलाई धुलो पार्ने हो ।
समाज र संसारको रूप फेर्ने हो ।।
षड्यन्त्रले राज्ययन्त्र खिया लागिसक्या’छ ।
खिया ला’को राज्ययन्त्र फाल्नुपर्या छ ।।
हाम्रै तागत लगाउने हो शासनमा पुग्नलाई ।
थुनिएका अशक्तको आँसु पुछ्नलाई ।।
चिच्याएर कराएर घोचे पनि सुनेन ।
अत्याचारी शासनले हाम्लाई टेरेन ।।
अशक्तले सडकमा गीत किन गाएहुन् ।
भनेका छन् शासनलाई हाम्रो पीडा सुन ।।
सानाभन्दा साना पीडा समाधान भएनन् ।
आन्दोलनमा लडेभिडे केही पाएनन् ।।
कुतŒवले शासन पाए अशक्तलाई पेलेर ।
यस्ताको आश गर्नुहुन्न राखौँ लेखेर ।।
देश गिजोल्ने कुतŒवलाई निकालेर फ्याल्ने हो ।
सबैलाई बराबरी न्याय दिने हो ।।
अशक्तले यो देशलाई करतिरो तिर्याछन् ।
अत्याचारी शासनका दिन फिर्या छन् ।।
असक्तले ढुकढुकीमा देश समाज राख्या छन् ।
देशलाई आपत् पर्दा साथ दिएका छन् ।।
कमी कहाँ भयो भन हाम्रो साथ पाउनलाई ।
मागिखाने व्यवहार किन हामीलाई ।।
अशक्तले मागिखान्छन् दिमागबाट हटाऊ ।
मानवीय संसारमा आऊ अटाऊ ।।
रहरले मात्र सुन्दर संसार समाज बन्दैन ।
अपमान गर्ने दिमाग सग्लो हुँदैन ।।
हाम्रो पीडा चेतनाको दन्किएको आगो हो ।
त्यही चेतना संसारको रूप फेर्ने हो ।।
फिक्री मान्नुहुन्न अब सिक्री साङ्ला चुडिन्छन् ।
अब नयाँ समाजमा सबै रमाउँछन् ।।
सबैलाई अधिकारको ढोका खुल्यो रमाए ।
कहिले होला चिसो कोठा भन्ने घाम आए ।।
भुलैभुलमा भौतारिँदै खेर गयो जीवन ।
भुलको खेती गर्ने शासन आफ्नो नभन ।।
हाम्रो सत्य आ’को छैन हक केमा पाइयो र ।
असतिले भन्छन् हेप्छन् किन चाहियो र ।।
जो जे आउन् हामी उस्तै भुइँमा लत्रिरहेका ।
हाम्रो पीडा तस्बिर बेची कमाइरहेका ।।
हाम्लाई पापी भन्छन् धूर्त पीडा बेच्ने पापीले ।
तिनै पापी निखार्ने हो हाम्रो तागतले ।।
रगत र तागतभन्दा संसारमा के छ र ।
रगत तागत भन्छ हाम्लाई पापी निखार ।।
सकेजति अभिभारा देश समाजको बोक्ने हो ।
संसारलाई मानवीय बनाई छाड्ने हो ।।
भोग अनि उपयोग सम्पत्तिमा बराबर ।
अशक्त र सक्त भन्ने चलन बन्द गर ।।