खुम रायामाझी, कुवेत ।
कुवेतमा केही समययता नेपाली कामदारहरुको मृत्युदर बढ्दै गएको छ।बिषेशगरी कागजात (भिषा नियम उल्लंघन गरेका र अवैधानिक) हरुको मृत्युको संख्या बढ्दै गएको र उनीहरुलाई नेपाल पठाउन समेत समस्या परेको नेपाली राजदूतवासले जनाएको छ ।
नेपाली दूतावास कुवेतकी द्वितिय सचिव जानकी ओझाका अनुसार अक्टोबर १७ तारिक फर्वानिया अस्पातलमा मृत्यु भएकी अठराइ तेर्हथुमकी २६ वर्षीया सन्चिता बस्नेतको शव नेपाल फर्काइएको छ । बस्नेतसँग कुनै प्रमाणित हुने कागजात साथमा नभएको अवस्थामा अस्पातल भर्ना भएकी थिइन् ।
अर्का ईलामका प्रदिप फागुको अक्टोबर २५ सोमबार आदान अस्पातलमा मृत्यु भएको छ । फागु पनि आफ्नो कम्पनीबाट भागेर अवैधानिकरुपमा काम गर्दै आएको र कम्पनीले उनी विरुद्ध भागी मुद्दा (रन वे) दर्ता गरेकाले शव फर्काउने सम्बन्धमा कम्पनीले कुनै सहयोग नगर्ने बताएको जानकारी दिएको छ ।
यसै गरी यो हप्ता २ जना नेपाली वैधानिक कागजात नभएका महिला कामदारहरुको मृत्यु भएको खबर आएको र उनीहरुको फिङ्गर प्रिन्ट रिपोर्ट आएपछि मात्र पूर्ण परिचय सहितको जानकारी आउने द्वितिय सचिव ओझाले बताउनु भएको छ ।
यससँगै पन्ध्र दिनभित्र कुवेतमा मृत्यु हुने नेपाली श्रमिकको संख्या ६ जना पुगेको छ । यसरी मृत्यु हुनेहरुमा धेरैजसो हृदयघातबाट भएको देखिन्छ ।