खिमराज चालिसे चंडिगढ।
मूल प्रवाह अखिल भारत नेपाली एकता समाजका दिवंगत एरिया सदस्य डिलाराम भट्टराईको अन्तिम संस्कार गरिएको छ । मूल प्रवाह श्रीगंगानगर नगर समितिले श्रद्धाञ्जलीसहित डिलारामको अन्त्येष्टि गरेको हो ।
सेतिया फार्म एरिया समितिका सदस्य डिलाराम भट्टराईको श्रीगंगानगर पदमपुर बाईपास स्थित आर्यघाटमा दाहसंस्कार तथा शोकसभा सम्पन्न भएको हो ।
श्रद्धान्जली कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सचिव त्रिभुवन भट्टराईले सम्बोधन गर्दै संगठनले एक इमानदार सिपाही गुमाएको बताउनुभयो । उहाँले डिलारामको निधनबाट समाजलाई अपूरणीय क्षति भएको भन्दै मृतकका आश्रीतलाई उचित क्षतिपूर्ति दिलाउन पहल गर्ने प्रतिवद्धतासमेत व्यक्त गर्नुभएको थियो ।

जागेश्वर न्यौपानेको अध्यक्षतामा तथा हरि न्यौपानेको सञ्चालनमा शोक सभा सम्पन्न भएको थियो । दाङको राप्ती गाउँपालिका घर भएका ४० वर्षीय डिलारामको रेविजका कारण हिजो निधन भएको हो ।