काठमाडौँ । अन्तर्राष्ट्रिय नेपाली एकता समाजबाट विदुर शर्मा, हिमाल थापा र दुर्गा शर्मा निष्काशित हुनुभएको छ ।
समाजका अध्यक्ष दुर्गाबहादुर केसीको हस्ताक्षरमा अक्टोबर ११, २०२१ का दिन जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको हो ।
गत सेप्टेम्बर २७ का दिन भेला गरी समानान्तर समिति गठन गर्ने जस्तो फुटपरस्त गतिविधि गरेकोमा समाजले उहाँहरूलाई निष्काशित गरेको जानकारी दिइएको छ । विदुर शर्मा र हिमाल थापा गत अप्रैल ४, २०२१ का दिन सम्पन्न अन्तर्राष्ट्रिय नेपाली एकता समाजको छैटौँ भेलाद्वारा निर्वाचित केन्द्रीय सदस्य तथा दुर्गा शर्मा केन्द्रीय सल्लाहकार हुनुहुन्थ्यो ।
अक्टोबर ८ का दिन सम्पन्न बैठकको निर्णय सार्वजनिक गर्न जारी गरिएको वक्तव्यमा गणतन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षा तथा सङ्घीयता खारेजीको आन्दोलनप्रति समर्थन र एक्यबद्धता प्रकट गरिएको छ । राजमो उपर्युक्त आन्दोलन चलिरहेका बेला फुटपरस्त तत्त्वको गतिविधि चलिरहेकोमा वक्तव्यमा सतर्क रहन आग्रह गरिएको छ ।
यस्तो छ प्रेसवक्तव्यको पूर्ण पाठ
“अन्तर्राष्ट्रिय नेपाली एकता समाजको बैठक अक्टोबर ८, २०२१ का दिन दुर्गाबहादुर केसीको अध्यक्षतामा भर्चुअल विधिबाट बस्यो । बैठकमा भएका निर्णय सार्वजनिक गर्नका लागि यो प्रेसवक्तव्य जारी गरिएको छ ।
नेपालमा राष्ट्रियता, जनतन्त्र र जनजीविकाका लागि निरन्तर सङ्घर्ष गर्दै आएको राष्ट्रिय जनमोर्चाले अहिले ‘गणतन्त्र, राष्ट्रिय स्वाधीनताको रक्षा गरौँ, सङ्घीयता खारेज गरौँ ! भन्ने मूल नारासहित एमिससी खारेजी, महङ्गी, भ्रष्टाचार, बेरोजगारी विरुद्ध सङ्घर्ष चलाइरहेको छ । त्यस्तै, राष्ट्रिय जनमोर्चाले प्रवासी नेपालीका हकहित तथा मताधिकारको विषयमा पनि आन्दोलनको उठान गर्दै आइरहेको छ । राष्ट्रिय जनमोर्चाले चलाएको देशव्यापी आन्दोलनलाई समर्थन र ऐक्यबद्धता प्रकट गर्दछौँ ।
हाम्रो सङ्गठन शोषित–पीडित प्रवासी नेपालीको हकहितका लागि क्रियाशील सङ्गठन हो । नेपालमा आमूल परिवर्तन नभएसम्म प्रवासी नेपालीका मूल समस्याको समाधान हुँदैन । नेपालमा चल्ने न्यायपूर्ण क्रान्तिकारी आन्दोलनबिना आमूल परिवर्तन सम्भव छैन । अहिले देशमा जनताको बलिदानीपूर्ण सङ्घर्षद्वारा स्थापित गणतन्त्र र राष्ट्रिय स्वाधीनता खतरामा छ । देशको यो विकराल परिस्थितिमा गणतन्त्र, धर्म निरपेक्षता र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि सबै खाले भड्कावका विरुद्ध सङ्घर्ष गर्दै आन्दोलनलाई अगाडि बढाउनु आवश्यकता हो तर कतिपय व्यक्तिद्वारा क्रान्तिकारी आन्दोलनलाई नै फुट पार्ने, क्रान्तिकारी सङ्गठनलाई कमजोर पार्न सङ्गठन विरुद्ध गतिविधि सञ्चालन गरिरहेका छन् । फुटपरस्त तत्त्वद्वारा चलाइएको गतिविधि एवम् फैलाइएको भ्रमबाट सचेत रहन विश्वभरिका एकता समाजका कार्यकर्तालाई अपिल गर्दछौँ एवम् मिडिया, सङ्घसंस्था तथा सरोकारवाला निकायलाई पनि यसै वक्तव्यद्वारा जानकारी गराउँछौँ ।
सङ्गठनको अप्रैल ४, २०२० मा सम्पन्न छैटौँ भेलाद्वारा चयन भएका कतिपय सदस्यले सङ्गठनको विरोधी गतिविधि सञ्चालन गरी सङ्गठनमा फुट पार्ने प्रयत्न गर्दै सेप्टेम्बर २७, २०२१ का दिन कथित भेला गरी समानान्तर अन्तर्राष्ट्रिय नेपाली एकता समाजको नाममा समिति गठन गर्ने दुष्प्रयास गरेको हुँदा त्यस कार्यमा संलग्न सदस्य विदुर शर्मा (कोरिया), हिमाल थापा (बेल्जियम) र सल्लाहकार दुर्गा शर्मा (स्पेन) लाई समितिबाट निश्काशित गरिएको छ ।”