मध्य दक्षिण (भारत) । मूल प्रवाह अखिल भारत नेपाली एकता समाज, मध्य दक्षिण महिला क्षेत्रीय विभागको आयोजनामा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सेकेन्दराबादमा आयोजित प्रशिक्षण कार्यक्रममा समसामयिक राजनीति तथा सांगठनिक अवस्थाबारे स्पष्ट पारिएको थियो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय वैकल्पिक सदस्य तथा मध्य दक्षिण क्षेत्रीय समितिका अध्यक्ष रामप्रसाद पौडेलले अहिले संगठनलाई तहसनहस पार्न खोज्ने अराजक समूह सक्रिय रहेको भन्दै संगठनका इमान्दार र अनुशासित कार्यकर्ता एकतावद्ध भएर उनीहरुका गतिविधि निस्तेज पार्नुपर्ने बताउनुभयो ।
साथै, उहाँले एमसीसी, संघीयता जस्ता विदेशीका एजेन्डा बोकेर सत्ताधारी दलहरुले देशको राष्ट्रियतामाथि खेलवाड गरिरहेको बताउनुभयो । देशभित्र राष्ट्रिय जनमोर्चाले राष्ट्रियको रक्षा, एमसीसी र संघीयताको खारेजीका लागि गरिरहेको संघर्षप्रति मूल प्रवाहले ऐक्यवद्धता जनाएको स्पष्ट पार्नुभयो । यस्तै, प्रवासी नेपालीहरुको मताधिकारका लागि मूल प्रवाहले खेलिरहेको भूमिकाबारे पनि उहाँले चर्चा गर्नुभयो ।
कार्यक्रममा मूल प्रवाहका केन्द्रीय सदस्य फूलबिना पौडेलको पनि आतिथ्यता रहेको थियो ।