खिमराज चालिसे, चंडिगढ ।
भारतको हरियाणा राज्यको करनालमा सडक दुर्घटना हुँदा एक नेपालीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । सिमलादेखि नेपाल जाँदै गरेको एचपी ६३बी ४०९७ नम्बरको फोर्स गाडी दुर्घटनामा परेको हो ।
Advertisement
मृत्यु हुनेमा रोल्पा जिल्लाको साविक पाखापानी गाविस वार्ड नम्बर १ निवासी नन्दलाल वलीको छोरा ३३ वर्षीय दुर्गा बहादुर वली रहेका छन् । यस्तै, दाङका दिल बहादुर दर्लामी र शशी खत्री, रोल्पाका अमृत केसी र नरेन्द्र तथा चालक बोबि (रुकुम) घाइते भएका छन् ।
घाइतेहरुलाई उपचारको लागि नजिकैको कल्पना चावला मेडिकल हस्पिटल पुर्याइएको घटनास्थलबाट राहात एवं उद्धार कार्यमा खटिएका समाजसेवी गोविन्द प्रसाद भुसालले जानकारी दिनु भएको छ ।
गाडीको टायर फाटेर किनारामा टायर बदल्ने क्रममा एक्कासी पछाडीबाट ट्रकल ठक्कर हान्दा दुर्घटना हुन पुगेको बताइएको छ ।