कञ्चनपुर । शनिबार राति कञ्चनपुरको कृष्णपुरमा भएको दुर्घटनामा दुई युवाको मृत्यु भएको विषयले तनाव उत्पन्न भएको छ । दुर्घटनापछि घटनास्थल गएका मृतकका आफन्तलाई संघीय प्रहरी ईकाइ कार्यालय धनगढीका एसएसपी देवबहादुर बोगटीले कुटपिट गरेको भन्दै स्थानीय आन्दोलित भएका छन् ।
शनिबार राती कृष्णपुर नगरपालिकाको वाणीमा रोकिराखेको ट्रकमा ‘अनटेस्ट’ मोटरसाईकल ठोक्किँदा स्थानीय २४ वर्षीय दिनेश राना र २० वर्षीय सुनिल रानाको मृत्यु भएको थियो ।
एसएसपी बोगटीमाथि मदिरामा लठ्ठ भएर कुटपिट गरेको मृतकका आफन्तको आरोप लागेको छ। बोगटीले घटना स्थलमा उपस्थित मृतकका आफन्तहरुमाथि कुटपिट गरेको आरोप लगाउँदै स्थानीयले ईलाका प्रहरी कार्यालय झलारीमा प्रर्दशन गरेका छन्।
मृतकका काका नाता पर्ने रामबहादुर रानाले घटना स्थल पुगेका रामचन्द्र राना, भक्त राना र उमेश रानामाथि एसएसपी बोगटीले कुटपिट गरेको बताए । उनले मदिरामा लठ्ठ भएका बोगटीले ट्रक धनीलाई जोगाउन पीडितमाथि कुटपिट गरेको आरोप लगाए ।
रानाले बोगटी एक्लैले कुटपिट गर्न थालेपछि आफूहरुले प्रतिकार गरी उनले प्रयोग गर्ने ९८५८४९४४४४ नम्बरको मोवाईल बरामद गरी ईलाका प्रहरी कार्यालय झलारीमा बुझाईएको बताए । आफूहरुमाथि कुटपिट गर्ने एसएसपी बोगटी र ट्रक धनीलाई उपस्थित नगराए सम्म शव नउठाने अडान लिदै मृतकका आफन्तले ईलाका प्रहरी कार्यालय झलारीमा प्रर्दशन गरिरहेका छन् ।
यता विवादमा तानिएका एसएसपी देवबहादुर बोगटीले आफूमाथि लागेको आरोप निराधार भएको प्रतिक्रिया दिएका छन् । उनले शनिबार महेन्द्रनगरमा भएको सप्तरंगी कार्यक्रमबाट फर्किने क्रममा कृष्णपुरमा दुर्घटना भएको देखेपछि आफूले गाडी रोकेको बताए ।
स्थानीय बिच विवाद भईरहेकाले साम्य पार्न गाडी रोकेर सम्झाई बुझाई गरेको बोगटीको दावी छ । तर मोवाईल त्यहाँ कसरी खस्यो भन्ने जिज्ञाशामा बोगटीले भने, प्रष्ट प्रतिक्रिया दिएनन् ।
प्रहरीले मोटरसाईकल रोकि राखेको ट्रकमा ठोक्किएर दुर्घटना भएको बताएपनि मृतकका आफन्तले भने ठक्कर दिएको बताएका छन् । उनीहरुले प्रहरीले ट्रक धनीलाई जोगाउन भूमिका खेलिरहेको आरोप लगाए ।

