रौतहट । बम विस्फोटका घाइतेलाई ज्युँदै इंटाभट्टामा पोलेको आरोप लागेका कांग्रेस नेता एवं पूर्वमन्त्री मोहम्मद आफताब आलमलाई जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।
राजपुर बम बिस्फोटको घटनामा पक्राउ परेका आलमलाई तत्काल प्राप्त प्रमाणको आधारमा थुनामा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको अदालतका श्रेस्तादार गुणराज पराजुलीले बताए । उनी विरुद्धको मुद्दामा दुवै पक्षको थुनछेक बहस सकिएपछि शुक्रबार अदालतले आलमलाई थुनामा पठाउन आदेश दिएको हो । वादी तर्फबाट १२ जना र प्रतिवादीको तर्फका २८ जना कानुन व्यवसायीले ८ दिन लगाएर बहस गरेका थिए ।
बहस सकिए लगत्तै इजलासमा न्यायाधीश दीपक ढकालले पीडित भनिएका श्रीनारायण सिंह र प्रतिवादी आलमलाई घटनाबारे सोधेका थिए ।दुवैले न्यायाधीशसमक्ष आ–आफ्नै कुरा राखेका थिए । यो आदेशमा चित्त नबुझेमा आलमले उच्च अदालतमा निवेदन दिन पाउँछन्। जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका कांग्रेसका निलम्बित सांसद आलमले आफ्ना सहयोगीमार्फत् मुख्य जाहेरीकर्ता र साक्षी धम्काएको पुष्टि भएपछि अदालतले त्यसलाई गम्भीर रुपमा लिएको थियो ।
प्रहरीले आलम बिरुध्दको मुद्दामा जिउँदै मान्छेलाई इट्टा भट्टीमा पोलेर प्रमाण नष्ट गर्न सघाउने राज इट्टा भट्टाका मुख्य संचालक बद्री सहनी समेत ११ जना प्रतिवादी कायम गर्दै गत सोमबार मुद्दा बुझाएको थियो । प्रहरीले घटनालगत्तै किटानी जाहेरी परेपनि कानूनी सजायका भागिदार नभएका मुख्य पाँच सहित ११ जनालाई प्रतिवादी बनाएको छ। यस्तै मालिकसहित ५ जनालाई मुख्य अभियुक्त बनाएर मुद्दा पेश गरेको हो।
यस्तो थियो आलम प्रकरणको घटना
२०६४ चैत्र २७ गते बुधबार साँझ साढे ६ बजे रौतहटको राजपुरफरहदवा गाविस वडा नम्बर ४ स्थित शेख सदिकको छोरा मोहम्मद आफताब आलमको काकाको घरमा बम विष्फोटन भएको थियो। अर्को दिन हुने संविधान सभा निर्वाचनलाई लक्षित गरि भारतीय कारिगर सहितले बम बनाँउदा अचानक बिस्फोट भएको थियो।
सो बिस्फोटमा जाहेरीवाला नारायणसिंह राजपुतका छोरा वर्ष २२ को पिन्टु भन्ने त्रिलोकप्रताप सिंह र रोक्साना खातुनका छोरा वर्ष २२ का ओसी अख्तर र अन्य व्यक्तिहरूको समेत उक्त घटनामा मृत्यु भएको थियो । संविधान सभा निर्वाचनमा उम्मेदवार रहेका आलमले आफू विजय हुन र अन्य पार्टीका कार्यकर्तालाई तर्साउन बम बनाउँदा विष्फोटन भएको, बम विष्फोटन हुँदा मोहम्मद आफताब आलमको काका शेख इद्रिसको घर र घरको छाना नष्ट भएको थियो।
सो बिस्फोटमा घाईते भएकाहरुलाई आलम समुहले उपचारको साटो आफ्नो लगानी र बद्री सहनीले संचालन गर्ने राज इट्टा भट्टाको आगो भट्टीमा हालेर जलाएका थिए। घटनामा कति जनाको हत्या भएको एकिन हुन सकेको छैन। प्रत्यक्षदर्शी स्थानीयहरुका अनुसार कम्तीमा २० भन्दा बढि ब्यक्तिलाई यसरी निर्ममतापूर्वक हत्या गरिएको आरोपमा पुलिसले मुद्दा दायर गरेको हो।

