मेघराज रिष्मेली, टोकियो ।
गुल्मी मुसिकोट नगरपालिका वडा नं. ९ डाँसिकोट स्थायी घर भई गत दुई वर्षदेखि रोजगारीको सिलसिलामा जापानको ओसाकामा कुक पेसामा कार्यरर्त ३६ वर्षीय नारायणबहादुर खत्रीको परिवारलाई जापान नेपाली एकता समाज ह्योगो क्षेत्रीय समिति र वामी सेवा समाजले सहयोग गरेको छ ।
मुटुरोगका कारण गत अगस्त १७, २०२१ का दिन उपचारको क्रममा मृत्यु भएका खत्री परिवारको आर्थिक अवस्था निकै कमजोर रहेकोले मृतकको परिवारले सक्दो सहयोग गरिदिनुहुन अनुरोध गरेपछि सो सहयोग गरिएको हो । त्यसका लागि दुवै संस्थाले सहयोग अभियान सञ्चालन गरेका थिए ।
अगस्त ३०, २०२१ का दिन जापान नेपाली एकता समाज क्षेत्रीय समिती ह्योगोका अध्यक्ष भेषराज साकोटा, सदस्य देवबहादुर सापकोटा, एकता समाजका केन्द्रिय सदस्य तथा युगदर्शन संवाददाता मेघराज रिष्मेली, एकता नौमती बाजा समूहका सदस्य खिम खरेल, समाजसेवी रामु कँडेलको उपस्थितिमा आयोजित एक समारोहमाज सो सहयोग हस्तान्तरण गरिएको थियो ।
सो अवसरमा एकता समाजको पहलमा उठेको रकम १,८३,५०० जापानी यन र जापान सेवा समाजको पहलमा उठेको रकम ४३,००० जापानी यन सेवा समाजका सदस्य झविलाल खराल (सुजन) को उपस्थितिमा मृतक खत्रीको पत्नी कमला खत्रीलाई हस्तान्तरण गरिएको एकता समाज ह्योगोका अध्यक्ष भेषराज सापकोटाले युगदर्शनलाई जानकारी दिनुभयो ।
सो अवसरमा कमला खत्रीले सम्पूर्ण सहयोगददाता र जापान नेपाली एकता समाजलाई धन्यवाद व्यक्त गर्नुभएको पनि सापकोटाले जानकारी दिनुभयो ।


