काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभरिबाट दुई हजार ४३३ जनामा कोरोना सङ्क्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १४ हजार ३७४ जनाको पिसिआर र एन्टिजेन परीक्षणमा दुई हजार ४३३ जनामा सङ्क्रमण पुष्टि भएको हो । मन्त्रालयका अनुसार नौ हजार ७०२ जनाको पिसिआर परीक्षण गर्दा दुई हजार ५२ र चार हजार ६७२ जनाको एन्टिजेन परीक्षण गर्दा ५०५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
बिहिबार देशभर एक हजार ९२९ जना सङ्क्रमित निको भई डिस्चार्ज भएका छन् । त्यस्तै, पछिल्लो २४ घण्टामा २६ एक जना सङ्क्रमितको मृत्यु भएको छ ।
देशभर ३८ हजार ३८४ जना सक्रिय सङ्क्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीमध्ये ३५ हजार ३५४ होम आइसोलेसनमा रहेका छन् । संस्थागत आइसोलेसनमा ३ हजार ३० सङ्क्रमित छन् भने ६२० जना आइसियुमा र १६५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
देशभर ३६६ जना कोरोना सङ्क्रमित क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

