भद्रपुर । कोरोना सङ्क्रमितलाई बोकेर अस्पताल पुर्याउदै आएका बिर्तामोडका एम्बुलेन्स चालक नै कोभिड विरुद्धको खोप लगाउन छुटेका छन् ।
बजरङ्ग मेडिकलको मे१च १०५० नम्बरको एम्बुलेन्सका चालक चेतन राईले बिर्तामोड र शनिश्चरे क्षेत्रका २८ चालकले खोप लगाउन नपाएको बताउनुभयो ।
‘कोरोनाका बिरामीसमेत बोकेर हिँड्नुपरेको छ, हामीलाई खोपको व्यवस्था मिलाइदिनुपर्याे भनेर बिर्तामोडका नगरप्रमुखलाई भनेका थियौँ’ उहाँले भन्नुभयो– ‘उहाँले हाम्रा कुरा सुन्नुभयो र व्यवस्था मिलाउँला भन्ने आश्वासन दिनुभयो ।’
बिर्तामोडका नगर प्रमुख ध्रुव शिवाकोटीबाट आश्वासन पाए तापनि अहिलेसम्म खोप लगाउन नपाउँदा दुःख लागेको राईले बताउनुभयो ।
राजनीतिक दलका नेता र मजदुर युनियनका नेतासँग समेत खोपको व्यवस्था गरिदिन हारगुहार गरिएको उहाँले सुनाउनुभयो ।
बिर्तामोड पूर्वी नेपालको स्वास्थ्योपचार केन्द्रको थलो बन्दै गएको छ । यहाँ बिर्तामोड नगरपालिकाले सञ्चालन गरेको २५ सैयाको सरकारी अस्पतालदेखि ९०० सैयाको प्रस्तावित मेडिकल कलेज बिएन्डसी अस्पतालसमेत रहेको छ ।
बिर्तामोडका अस्पताल परिसरमा बिरामी कुरेर एम्बुलेन्स चालक बस्ने गरेका छन् । बिर्तामोडको बिएन्डसी र बिर्तासिटी अस्पतालमा कोभिड उपचार केन्द्र सञ्चालित छ । यहाँबाट बिरामी पूर्वीपहाडका जिल्ला, विराटनगर, धरान र भद्रपुर ओहोरदोहोर गर्दै आएका छन् ।
‘राज्यले एम्बुलेन्स चालकलाई कोभिड विरुद्ध अभियानको फ्रन्टलाइनर घोषणा गरेको छ’ खोप लगाउन नपाउनुभएका चालक राईले भन्नुभयो– ‘हाम्रा पनि घरमा बालबच्चा र परिवार छन् । कोरोनाका बिरामीसमेत बोक्नुपर्ने अवस्था छ । खोप लगाउन पाए ढुक्क हुन सकिने थियो ।’ (रासस)