इनरुवा । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा जन्मँदै आन्द्रा र कलेजो पेटबाहिर निस्किएको एक शिशुको शल्यक्रिया गरिएको छ ।
भोजपुरको दावा प्राथमिक स्वास्थ्य केन्दमा जन्मिएका सिद्धेश्वर गाउँपालिका–४ मान्द्रेका सन्ध्या विकको शिशुलाई गत असार २१ गते प्रतिष्ठानमा भर्ना गरिएको थियो ।
शिशुलाई एक महिनासम्म एनआइसियुमा राखेर प्रतिष्ठानका डा राजेश साहको टोलीले शल्यक्रिया गरी बाहिर निस्किएको आन्द्रा र कलेजो मिलाएको थियो । १२ हजार शिशुमध्ये एकजनामा यस्तो समस्या आउने डा साहले बताउनुभयो ।
‘विभिन्न कारणले जन्मनुभन्दा अगाडि पेट राम्ररी नबनेको बच्चा जन्मँदा यस्तो समस्या आउने गर्छ । यसलाई ग्यास्ट्रोजचेसिज भनिन्छ’ उहाँले भन्नुभयो ।
शिशुको नाइटोबाट पूरै आन्द्रा बाहिर निस्किएकामा १५ दिनसम्म प्लास्टिकको ब्यागमा हालेर एनआइसियुमा राखी शल्यक्रिया गरिएको थियो । जन्मँदा नानीको स्वरूप नै बिग्रिएको थियोे शल्यक्रियापछि राम्रो भएको शिशुका बुबा नवराज परियारले बताउनुभयो ।
पाँच वर्षअघि डा. राजेश यस प्रतिष्ठान आएपछि यस्ता जटिल प्रकृतिका बच्चाको उपचार सहज र सुलभमा हुँदै आएको छ । यसअघि भारत तथा काठमाडौँका महङ्गो अस्पतालमा यस्ता बिरामीको उपचार गराउँदा लाखौँ रकम खर्च हुने गथ्र्योे तर प्रतिष्ठानले भने शल्यक्रिया शुल्क १३ हजार मात्र लिँदै आएको छ । औषधि तथा अन्य सबै गरेर रु ५० हजारमा उपचार हुँदै आएको छ ।