काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना विरुद्धको खोप लगाउने आफ्ना नागरिकलाई १ सय डलर दिने घोषणा गरेका छन् । बिहीवार ह्वाइट हाउसबाट सम्बोधन गर्दै बाइडनले खोप लगाएबापत नागरिकलाई एक सय डलर दिन राज्य सरकारहरुलाई निर्देशन गरेका छन् ।
अमेरिकामा कोरोना संक्रमण बढिरहेको र खोप लगाउने दरमा कमी आएपछि राष्ट्रपति बाइडेनले यस्तो घोषणा गरेका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । राज्यहरूले अमेरिका रेस्क्यु प्लान अन्तर्गतको कोषबाट प्रयोग गर्न सक्ने गरी खोप लगाउने नागरिकलाई सहयोग रकम उपलव्ध गराउन सक्नेछन् ।
पछिल्लो समय अमेरिकामा कोरोनाको डेल्टा भेरियन्टको संक्रमण तीव्र रुपमा फैलिएको छ। बाइडेनले सरकारका कर्मचारीका लागि पनि नयाँ कडा खोपसम्बन्धी निर्देशन जारी गरेका छन् । सङ्घीय सरकारका निकायहरूमा करिब २० लाख मानिसहरू काम गर्छन्।
बाइडनले जारी गरेको निर्देशन अनुसार अब कर्मचारीहरूले खोप लगाएको प्रमाण देखाउनु पर्नेछ वा अनिवार्य परीक्षणको सामना र मास्क लगाउन तयार हुनुपर्नेछ । हालसम्म अमेरिकामा आधा जनसङ्ख्याले मात्र कोरोनाको खोपको पूरा मात्रा लगाएका बीबीसीले जनाएको छ ।
गत महिनाको एउटा अध्ययनले अमेरिकामा ९९ प्रतिशत कोभिडसम्बन्धी मृत्यु खोप नलगाएका व्यक्तिमा देखाएको छ। अहिले अमेरिकामा प्रतिहप्ता करिब दुई हजार व्यक्तिको कोभिडका कारण निधन भइरहेको छ। bत्यस्तै त्यहाँ दैनिक सङ्क्रमण दर पनि ६० हजारसम्म रेकर्ड भएको छ।