काठमाडौँ । नेपालमा अहिलेसम्म ५४ हजार बालबालिका कोरोनाबाट संक्रमित देखिएका छन् ।
प्रतिनिधि सभाको महिला तथा सामाजिक समितिको २०७८ साउन १४ गतेको बैठकमा राष्ट्रिय बाल अधिकार परिषद्का कार्यकारिणी निर्देशक डा. मिलनराज धरेलले तथ्याङ्क प्रस्तुत गर्दै अहिलेसम्म ५४ हजार ४६० जना बालबालिका कोरोनाबाट सङ्क्रमित भएको बताइएको हो ।
यही साउन १३ गतेसम्मको तथ्याङ्कअनुसार कोरोनाको पहिलो लहरमा २१ हजार ५२३ बालबलिका सङ्क्रमित भएका थिए ।
त्यसैगरी, कोरोनाको दोस्रो लहरमा ३२ हजार ९३७ जना बालबालिकामा सङ्क्रमण देखिएको छ । दोस्रो लहरमा सङ्क्रमण पुष्टि भएकामध्ये २९ हजार ७७७ जना निको भएको तथ्याङ्कमा उल्लेख छ ।
त्यस्तै, तथ्याङ्मा कोरोनाको पहिलो लहरबाट ३८ जना र दोस्रो लहरबाट ४३ जना बालबालिकाको मृत्यु भएको छ ।
यता, स्वयम् स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोनाको तेस्रो लहर आएमा बालबालिकालाई बढी प्रभावित गर्ने बताइसकेको छ ।


