काठमाडौं । नेपालमा कोरोना संक्रमणको नयाँ भेरियन्ट फेला परेको छ । भारतमा गरिएको परीक्षणका क्रममा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने खालका छन् । ४७ वटा नमूनामा कोरोनाको डेल्टा भेरियन्ट पुष्टि भएको र थप तीन वटामा उत्परिवर्तन (ए वाईआई) भेटिएको हो ।
मन्त्रालयका अनुसार जेठ मध्य देखि असार मसान्तसम्म देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट संकलित नमुनाहरूको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा छनौट गरी ४७ वटा नमुनाहरू विध स्वास्थ्य संगठनको नेपाल स्थित कार्यालय तथा दक्षिण पूर्व एसिया क्षेत्रीय कार्यालयको सहयोग र समन्वयमा भारतको नयाँ दिल्लीस्थित ‘डब्ल्युएचओ आइडेन्टीफाइड सेन्टर फर उक्सलेन्स इन जिनोमिस, द इन्सिच्युट अफ जिनोमिस एण्ड इन्टिग्रेटिभ बायोलोजी (आईजीआईबी)’ मा ‘सेक्वेन्सिङ’ का लागि २०७८ असार ३० गते पठाइएको थियो।
उक्त नमूनाहरूको जिनोमिक पहिचान गर्दा सबै नमूनाहरूमा डेल्टा भेरियन्ट (बी.१.६१७.२) पुष्टी भएको छ मन्त्रालयले जनाएको छ। जसमध्ये ३ वटामा थप उत्परिवर्तन ‘के४१७ एनम्युटेसन’ भेटिएको छ जसलाई ‘ए.वाईआई’ नाम पनि दिइएको छ।
यी सहित हालसम्म नेपालमा ‘भेरियन्ट अफ कन्सर्न’ का रूपमा अल्फा (बी.१.१.७) र डेल्टा भेरियन्ट (बी.१.६१७.२) तथा ‘भेरियन्ट अफ इन्ट्रेस्ट’का रूपमा कप्पा भेरियन्ट (बी.१.६१७.१) पुष्टि भएको छ।
यी भेरियन्टहरू बढी संक्रामक तथा सबै उमेर समूहका व्यक्तिहरूलाई असर पार्ने विभिन्न अध्ययनबाट पाइएको मन्त्रालयले जनाएको छ ।
संक्रमणको जोखिम बढिरहेको अवस्थामा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी भूमिका बढाउन संवेदनशील भई जनस्वास्थ्यका मापदण्डहरूको पालना गर्न गराउन र सम्भावित तेस्रो लहरको चुनौतीपूर्ण अवस्थाको तयारी गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सबैसँग आग्रह गरेको छ ।
