काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा तीन हजार ८९९ सङ्क्रमित थपिएसँगै नेपालमा दैनिक कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार १७ हजार ५१८ जनाको परीक्षण गर्दा पिसिआर विधिबाट दुई हजार ७२६ जना र एन्टिजेन विधिबाट एक हजार १७३ जना सङ्क्रमित थपिएका हुन् । हालसम्म पिसिआर विधिबाट छ लाख ८५ हजार ६७३ जना र एन्टिजेन विधिबाट ५७ हजार १४४ जना सङ्क्रमित पुष्टि भइसकेको छ ।
यही अवधिमा एक हजार ७७८ जना सङ्क्रमणमुक्त भएका छन् । नेपालमा कुल सङ्क्रमितमध्ये छ लाख ४७ हजार ७९ जना निको भएका छन् । नेपालमा निको हुने दर ९४.४ प्रतिशत रहेको छ ।
कोभिड–१९ को सङ्क्रमणबाट थप २० जनाको मृत्यु भएको छ । १.५ प्रतिशत मृत्युदर रहेको नेपालमा नौ हजार ७५८ जनाको मृत्यु भइसकेको छ ।
मङ्गलबार काठमाडौं उपत्यकामा ७७४ जना सङ्क्रमित फेला परेका छन्, जसमा काठमाडौँ ४७५, ललितपुर १६७ र भक्तपुर १३२ रहेका छन् ।
मन्त्रालयका अनुसार हालसम्म ३४ लाख ६२ हजार ३४० जनाले कोरोना विरुद्धको पहिलो मात्रा खोप लगाएका छन् भने १४ लाख ५७ हजार ६७० जनाले दुवै डोज खोप लगाएका छन् ।

