काठमाडौं । हास्य कलाकार पल्पसा डंगोल ‘चम्सुरी’ को दुवै मिर्गौला फेल भएको छ । डंगोलको अहिले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचार भइरहेको छ ।
कलाकार दिपाश्री निरौलाका अनुसार पाँच वर्षअघि नै पल्पसाको मिर्गौलामा समस्या देखिएको थियो । तर छोरीहरुले थाहा नपाउन् भनेर आफ्नो रोग लुकाउँदै आएको उहाँले बताउनुभयो । एक महिनाअघि अस्पताल भर्ना भएकी डंगोलले हाल सम्म त्यसबारे कसैलाई जानकारी दिन नचाहेको र स्वास्थ्यअवस्था जटिल भएपछि मात्रै उहाँको समस्या सार्वजनिक भएको बताइएको छ ।
‘उहाँले डाक्टरको सल्लाहअनुसार औषधि र खानेकुरामा परहेज गर्दै आउनुभएको थियो, तर आफूलाई युरिक एसिड मात्रै भएको भनेर भन्नुभएको थियो’ दिपाश्रीले भन्नुभयो, ‘एक महिनाअघि अस्पताल भर्ना भएपछि पनि उहाँले धेरैलाई थाहा दिन चाहनुभएन ।’
अस्पतालमा डाइलसीस चलिरहँदा अस्तिदेखि पल्पसाको स्वास्थ्यमा समस्या आएको चिकित्सकले बताएका छन् । पछिल्लोपटक गरिएको डाइलसीसका क्रममा समस्या आएकाले डाक्टरले चाँडोभन्दा चाँडो मिर्गौला प्रत्यारोपण गर्न सुझाव दिएका छन् ।
दिपाश्रीले पल्पसाको जीवन बचाउन सबैसँग अपिल गर्नुभएको छ । उहाँलाई एउटा मिर्गौलाको खाँचो रहेको दिपाले बताउनुभयो ।
‘उहाँले यतिबेला हिम्मत हार्नुभएको छ, मसित अब बाँच्दिन भनेर निकै बिलौना गर्नुभयो,’ दिपाश्रीले भन्नुभयो ‘उहाँलाई सबै दर्शकको हौसला र सहयोगको आवश्यकता छ । साँच्चै भन्दा उहाँलाई एउटा मिर्गौलाको खाँचो छ ।’
पल्पसा केही वर्षअघि नै श्रीमानसँग अलग भएर दुई छोरीसँग बालाजुमा बस्दै आउनुभएको छ । उहाँका छोरीहरू सानै छन् ।
हास्य टेलिश्रृंखला मेरीबास्सैमा सुरुदेखि नै अभिनय गर्दै आएकी पल्पसा लकडाउनका कारण सो टेलिश्रृंखलाको छायांकन रोकिनुअघिसम्म त्यसमा काम गरिरहनुभएको थियो ।

