काठमाडौँ । कोरोना विरुद्धको भेरोसेल खोप आठ लाख मात्रा नेपाल आइपुगेको छ ।
चीनबाट खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको बाइडबडी ए ३३० जहाजमार्फत असार २५ गते बिहान ६ बजे नेपाल आइपुगेको हो । बिहीबार साँझ उक्त जहाज खोप लिनका लागि चीनतर्फ गएको थियो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सरकारले खरिद गरेको खोप शुक्रबार बिहान आइपुगेको जानकारी दिनुभयो । उहाँले पहिलो चरणमा आज आठ लाख मात्रा अर्थात् १३ हजार किलो खोप आइपुगेको जानकारी बताउनुभयो । सरकार र खोप कम्पनीबिच नन–डिस्क्लोजर सम्झौतानुसार कति परिमाणमा खोप नेपाल ल्याउने भन्ने कुरा खुलाइएको छैन ।
अब आगामी साउन ८ गतेसम्म तीन उडानमार्फत नियमित रूपमा खोप आउन थालेको हो । त्यस्तै, असार ३१ गते पुनः बाइडबडी जहाज खोप लिन गएर साउन १ गते र साउन ७ गते पुनः जहाज नेपालबाट गएर साउन ८ गते खोप ल्याउने छ । उहाँले अहिले टेकुस्थित चिस्यान केन्द्रमा खोप भण्डारण गरिरहेको जानकारी दिनुभयो । मन्त्रालयले खोप लगाउने कार्यलाई विशेष प्राथमिकतामा राखेपछि यो खोप देशैभरि पठाउने तयारी गरेको छ ।
खोप ६० वर्षमुनि उमेर समूहका मानिसलाई प्राथमिकताका आधारमा लगाउने मन्त्रालयको तयारी छ । कुल जनसङ्ख्याको दुई करोड २० लाखलाई खोप लगाउने सरकारको लक्ष्य छ । नेपालमा अहिलेसम्म २६ लाख ११ हजार ८०७ लाई पहिलो मात्रा र नौ लाख ३३ हजार ८६८ लाई दोस्रो मात्राको खोप लगाइसकिएको छ ।