मकवानपुर । बागमती प्रदेश सरकारले लिच्छवि र मल्लकालीन प्राचीन सम्पदाको संरक्षण र प्रवद्र्धन गर्ने योजना अघि सारेको छ ।
भौतिक पूर्वाधार तथा विकास मन्त्रालयले लिच्छवि र मल्लकालीन समयमा निर्माण गरिएको तर संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका ढुङ्गेधारा तथा विभिन्न गढीलाई मौलिकताको आधारमा पुनःनिर्माणको काममा तीव्रता दिएको हो ।
भौतिक पूर्वाधार तथा विकासमन्त्री रामेश्वर फुँयालले संरक्षणको अभावमा जीर्ण अवस्थामा पुगेका त्यस्ता प्राचीन सम्पदालाई मौलिकताका आधारमा पुनः निर्माणको काममा तीव्रता दिएको बताउनुभयो । उहाँले मकवानपुरको थाहा नगरपालिका–२ पुरानो पालुङ गाउँस्थित दुई, वडा नम्वर–९ चित्लाङको गुर्जुधारा र नारायणहिटीमा गरी आठ तथा हेटौँडा उपमहानगरपालिका–९ मा एउटा गरी ११ वटा ढुङ्गेधाराको पुनःनिर्माणको काम भइसकेको र यही असार मसान्त भित्रमा सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी गरिएको जानकारी दिनुभयो ।
मन्त्री फुँयालका अनुसार नुवाकोट, काठमाडौं जिल्लाको शङ्करापुर र मनोहरा नगरपालिका क्षेत्रमा क्रमशः एक÷एक वटा गरी ३ वटा ढुङ्गेधाराको निर्माण कार्य सम्पन्न भइसकेको र यही असार मसान्तभित्र सम्बन्धित स्थानीय तहलाई हस्तान्तरण गर्ने तयारी भइरहेको छ । (रासस)