बागलुङ बजार । आँखामा लाग्ने कालोढुसी फैलिन सक्ने भन्दै बागलुङ नगरपालिकाले पूर्व तयारी थाल्ने भएको छ । कालोढुसी रोगको नियन्त्रण र रोकथामका लागि पूर्व तयारी गर्ने योजना सार्वजनिक भएको हो ।
कालोढुसीको नियन्त्रण तथा रोकथामका लागि पूर्वतयारीमा रहने योजना रहेको नगरप्रमुख जनकराज पौडेलले बताउनुभयो । कोरोना महामारी नियन्त्रण र बहुबर्षे कार्यक्रमलाई प्राथमिकतामा राखेर आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गरेको नगरपालिकाले कालोढुसीको नियन्त्रण तथा रोकथाम प्राथमिकतामा राखेको हो ।
बुधबार नवौँ नगरसभामा नगरप्रमुख जनकराज पौडेलले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कोरोना महामारी नियन्त्रण, कालोढुसी रोगको नियन्त्रण र रोकथामका लागि आवश्यक बजेटको व्यवस्था गरिने उल्लेख छ ।
“भारतलगायतका देशमा महामारीको रूपमा फैलिएको यो रोग नेपालमा भित्रिने सम्भावना छ” पौडेलले भन्नुभयो– “कोरोना महामारीको जस्तो पूर्वतयारी बिना यो रोगसँग बच्न कठिन छ ।” (रासस)