काठमाडौं । रक्तिम सांस्कृतिक अभियान पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधनले रक्तिम सांस्कृतिक अभियान स्तब्ध भएको जनाएको छ । रक्तिमले बुधबार शोक विज्ञप्ति प्रकाशित गरी दिवंगत कुशुम प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।
राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष बिशाल दर्लामीकी जीवनसंगिनी एवम् राजमो गुल्मीका सचिव छविलाल सर्तुङगीकी छोरी कुशुमको मंगलबार साँझ निधन भएको हो ।
रगतसम्बन्धी समस्यासँगै कोरोना संक्रमण पुष्टि भएपछि उहाँलाई जेठ १० गते भरतपुर क्यान्सर अस्पतालमा भर्ना गरिएकोमा उपचारकै क्रममा निधन भएको थियो ।
यो पनि : रक्तिम पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको निधन
रक्तिम सांस्कृतिक अभियानका महासचिव जीवन शाहीले प्रेशित गर्नुभएको शोक वक्तव्यमा मृतकप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्नुभएको छ ।
शोक वक्तव्यमा भनिएको छ, ‘२०७८ जेठ १८ गते साँझ रक्तिम सांस्कृतिक सांस्कृतिक अभियान पाल्पाकी उपाध्यक्ष कुशुम दर्लामीको भरतपुर क्यान्सर अस्पतालमा उपचारको क्रममा ३३ वर्षको अल्पायुमै भएको दुःखद निधनले हामीलाई स्तब्ध बनाएको छ । मृतक प्रति भावपूर्ण हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्दछौँ ।
कामरेड कुसुम राष्ट्रिय जनमोर्चा पाल्पाका अध्यक्ष विशाल दर्लामीकी जीवन सङ्गिनी र राजमो गुल्मीका सचिव छविलाल सर्तुङगीकी छोरी हुनुहुन्थ्यो । पारिवारिक स्रोतका अनुसार उहाँलाई सुरुमा रगतसम्बन्धी समस्या देखिएको थियो । पहिला खुट्टा सुन्निनेजस्ता समस्या देखिएपछि पछिल्लो समयमा कोभिड सङ्क्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या उत्पन्न भएपछि कुशुमलाई भरतपुर अस्पतालमा भर्ना गरिएको थियो ।
कामरेड विशालले उहाँलाई बचाउन सम्भावित सबै प्रयत्न गर्नुभयो तैपनि मृत्युसँग हाम्रो हार भयो । यतिवेला हामीसँग अब शोकलाई शक्तिमा बदल्नुको सिवाय अरु केही विकल्प रहेन । कामरेड विशाल आफैँ पनि कोराना संक्रमणबाट अछुतो रहन सक्नु भएको थिएन तथापी उहाँको प्रयास निरन्तर जारी रहँदा रहँदै पनि हामीले अकल्पनीय दुखद घटना व्यर्होनु परेको छ । कामरेड विशालको पनि स्वास्थ्यलाभको कामना र्गदछौं । दुःखको यस घडीमा दिवंगत कामरेड कुसुम प्रति पुनः भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछौं ।’