काठमाडौँ । प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय विस्तारित बैठक सम्पन्न भएको छ । अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरी तथा महासचिव समीर सिंहको हस्ताक्षरमा जारी प्रेसविज्ञप्तिका अनुसार २०७८ वैशाख २५ गते भर्चुअल माध्यमबाट सो बैठक सम्पन्न भएको हो ।
बैठकले कोभिडको प्रतिकूल परिस्थितिमाझ भर्चुअल माध्यमबाट स्थानीयस्तरसम्मका बैठक, गोष्ठी सम्पन्न गर्ने निर्णय गरेको बताइएको छ ।
वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक मोदनाथ प्रश्रित तथा कोभिड सङ्क्रमणयुक्त सम्पूर्णप्रति स्वास्थ्यलाभको कामना, प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसादको प्रतिमा निर्माणमा सहयोग र प्रदेश र नगरपालिका स्तरमा गठन हुन लागेका प्रज्ञा–प्रतिष्ठानबारे धारणा व्यक्त गरिएको सो प्रेसविज्ञप्तिको पूर्ण पाठ यस्तो छ–
“प्रगतिशील लेखक सङ्घ, नेपालको केन्द्रीय समितिको विस्तारित बैठक २०७८ वैशाख २५ गते अनलाइन माध्यमबाट सम्पन्न भएको छ । सङ्घका अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको अध्यक्षतामा बसेको सो बैठकले २०७८ जेठ महिनाभित्र सबै प्रदेशका बैठक भर्चुअल माध्यमबाट सम्पन्न गरी हरेक प्रदेशको प्रलेसको इतिहास केन्द्रीय परिसंवाद कार्यक्रममा लेखकहरूबाट प्रस्तुतिको तयारी गर्ने, सबै जिल्ला समितिका बैठक भर्चुअल माध्यमबाट सम्पन्न गरी जिल्ला सम्मेलनको मिति निर्धारणका साथै कम्तीमा पनि हरेक जिल्लामा भर्चुअल माध्यमबाटै कम्तीमा पनि एउटा कविगोष्ठी, गीतगजल गोष्ठी वा विचारगोष्ठीको आयोजनाको व्यवस्था प्रदेश समितिबाट मिलाउने पनि बैठकले निर्णय गर्यो ।
बैठकले कोभिड–१९बाट सङ्क्रमित भई त्रि.वि. शिक्षण अस्पतालको आइसियुमा उपचाररत वरिष्ठ प्रगतिवादी साहित्यकार तथा चिन्तक मोदनाथ प्रश्रितको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उहाँको उपचारको विशेष व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गर्नेलगायत देशका विभिन्न भागमा कोरोना सङ्क्रमणमा परी यस महामारीसँग सङ्घर्ष गरिरहनुभएका प्रगतिशील लेखक, कलाकार तथा अन्य महानुभावहरूको जीवनरक्षाका लागि अस्पताल, अक्सिजन, औषधि आदि सुलभ गराउन तथा समग्र देशवासीको स्वास्थ्यप्रति गम्भीर भई समयमै खोपको व्यवस्था गर्न सरकारलाई आग्रह गरेको छ ।
प्रलेसका संस्थापक अध्यक्ष श्यामप्रसादको प्रतिमा देशका सम्पूर्ण लेखक—कलाकारको सहयोगमा मोरङको बेलबारीमा स्थापना गर्न प्रलेस प्रदेश नं. १ समितिले पहल गरिरहेको सन्दर्भमा सो काममा सहयोग गर्न प्रलेसअन्तर्गतका विभिन्न समितिका साथै समस्त लेखक—कलाकारहरूलाई बैठकको निर्णयानुसार केन्द्रीय समिति हार्दिक आह्वान गर्दछ ।
बैठकमा विभिन्न प्रदेश र नगरपालिकामा गठन भएका र हुन लागेका प्रज्ञा–प्रतिष्ठानहरूबारे पनि छलफल भयो । प्रज्ञा–प्रतिष्ठानमा नियुक्तिको क्रममा प्राज्ञिक गरिमा एवम् मर्यादाको ख्याल गर्न अत्यावश्यक भएको र त्यसो नगरिँदा प्राज्ञिक जगत्मा पर्न जाने नकारात्मक असरबारे सम्बन्धित निकायलाई बेलैमा गम्भीर हुन पनि बैठकले ध्यानाकर्षण गराउने निर्णय गरेको छ ।”