काठमाडौं । लक्ष्मीपूजाको मूर्ति विसर्जन गर्ने विषयमा हिन्दू र मुस्लीम समुदायबीच झडप हुँदा कपिलवस्तुमा एक जनाको ज्यान गएको छ ।
झडपका कारण २० वर्षीय युवकको ज्यान गएपछि कपिलवस्तुको कृष्णनगर बजार क्षेत्र तनावग्रस्त बनेको छ । प्रहरीको गोलीबाट ती युवकको मृत्यु भएको बताइएता पनि प्रहरीले गोली चलाएको पुष्टि गरेको छैन ।
झडपपछि कृष्णनगरमा आज बिहान ११ बजेदेखि अनिश्चितकालिन कर्फ्यू लगाइएको छ । स्थानीय प्रशासनले कृष्णनगर भन्सार कार्यालयदेखि ७ सय मिटर उत्तर, पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटरको क्षेत्रमा आज बिहान ११ बजेदेखि अर्को आदेश नभएसम्मका कर्फ्यू जारी गरिएको हो ।
क्र्फयुमा समेत प्रदर्शन भएपछि प्रहरीले हवाई फायर गरेको जनाएको छ ।
बुधबार साँझ कृष्णनगर नगरपालिकाका वडा नम्बर १,२ र ३ का १३ वटा लक्ष्मीका मूर्ति कृष्णनगर–१ मा रहेको बढया पोखरीमा विसर्जन गर्ने कार्यक्रम थियो । प्रहरीका अनुसार साँझ साढे ६ बजे कृष्णनगर नगरपालिका–२ झण्डेनगरमा मूर्ति भएको गाडी स्थानीय मुस्लिम समुदायका व्याक्तिहरुले रोक्न खोजेका थिए । त्यही विषयमा विवाद हुँदा दुवै पक्षबीच ढुङ्गा हानाहान समेत भएको थियो ।
विहीबार बिहान पनि अवस्था असामान्य बन्ने सम्भावना बढेपछि अर्को आदेश नभएसम्म कर्फ्यु जारी गरेको छ ।
प्रहरीका अनुसार बुधबार साँझ नै स्थिति नियन्त्रणमा लिनका लागि २० सेल आश्रुग्यास प्रहार गरिएको थियो । मूर्तिलाई सुरक्षित राखिएको छ ।