काठमाडौं । नेपाली गीत संगीतमा डा. डीआर उपाध्यायले सार्वधिक विश्व रेकर्ड कायम गर्नुभएको छ । १२ अन्तर्राष्ट्रिय भाषामा १२ लाइनको गीत रेकर्ड गराएर केही महिना पहिला मात्र गिनिज अफ वर्ल्ड रेकर्ड कायम गर्नुभएका गीतकार डा. उपाध्यायले फेरि १९ फरक विधामा विश्व कीर्तिमानी कायम गर्दै कुल ५१ विधामा विश्व रेकर्ड राख्नु भएको छ ।
राजधानीमा सोमबार एक समारोहबीच उपाध्यायलाई पूर्वप्रधानमन्त्री तथा साहित्यकार लोकेन्द्रबहादुर चन्द र इतिहासविद् तथा राजनीतिक विश्लेषक प्राडा सुरेन्द्र केसीले १९ वटा विधामा वर्ल्ड रेकर्डको सर्टिफिकेट प्रदान गर्नुभएको हो । यसअघि डा. उपाध्यायले गीत संगीतका विभिन्न विधामा ३२ वर्ल्ड रेकर्ड कायम गर्नुभएको थियो ।
उहाँले अमेरिकन बुक अफ रेकर्ड, एसियन वल्र्ड रेकर्ड, च्याम्पियन बुक अफ वल्र्ड रेकर्ड, वर्ल्ड ट्यालेन्ट बुक, एभरेष्ट वर्ल्ड रेकर्ड, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एसियन वर्ल्ड रेकर्ड, द व्रिटिस वर्ल्ड रेकर्ड, वेगंल वुक अफ रेकर्ड, ओएमजी वुक अफ रेकर्ड, आसाम बुक अफ रेकर्ड जस्ता १३ संस्था बाट १९र१९ विधामा एकसाथ रेकर्ड बनाउनु भएको हो ।
उहाँले वल्र्ड रेकर्ड प्राप्त गरेका १९ वटा फरक विधामा विश्वका १५० देशका पर्यटकीय स्थल समेटिएको गीत, सबै भन्दा सानो १८ शब्द को आधुनिक गीत, २०० शब्द भन्दा लामो गीतको बोल, मोटिभेसन गीत ६० वर्ष भन्दा माथिका गायक गायिकाले गाएको, एक हजारको नेपाली रुपैयाँ साइजको गीति पुस्तक, १६४ ओटा फरक चराको नाममा रहेको गीत, १५७ देशका मुद्रको नाम समेटिएको गीत जस्ता गीत रहेका छन् ।
कीर्तिमानी गीतकार उपाध्यायले व्यक्तिभन्दा पनि नेपाली गीत संगीतलाई विश्व बजारमा पुर्याउँदै गिनिज, अमेरिकन वर्ल्ड बुकसहित सबै वल्र्ड रेकर्डमा नेपालको नाम लेखाउन आफूले यस्तो कार्य गरेको बताउनुभयो । उपाध्याका २४ एल्वम, ११ उपन्यासका साथै तीन गीति पुस्तक प्रकाशित छन् ।