काठमाडौं । सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै आज (मंगलबार) देखि काठमाडौं उपत्यकासहित देशभरका २५ ठूला सहरका शिक्षण संस्था बन्द गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार १४ जिल्लाका २५ सहरमा विद्यालय, कलेजलगायत शिक्षण संस्था यही वैशाखभरका लागि बन्द गरिएका हुन् ।
काठमाडौं, ललितपुर, भक्तपुर जिल्लाका सबै स्थानीय तह, बनेपा, धुलिखेल, भरतपुर, काँकडभिट्टा, बिर्तामोड, दमक, विराटनगर, इटहरी, धरान, वीरगन्ज, जनकपुर, राजविराज, हेटौंडा, भैरहवा, पोखरा, बुटवल, घोराही, तुलसीपुर, नेपालगन्ज, धनगढी, वीरेन्द्रनगर र भीमदत्तनगर क्षेत्रका शिक्षण संस्था बन्द गरिएका हुन्।
कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्र (सीसीएमसी) को सिफारिसअनुसार सरकारले संक्रमणबाट विद्यार्थी बचाउन सहरी क्षेत्रका शिक्षण संस्थासँगै रात्रिकालीन व्यवसाय तथा फिल्म हललागयत भीडभाड स्थल वैशाख मसान्तसम्मका लागि बन्द गराएको सरकारका प्रवक्तासमेत रहेका सञ्चारमन्त्री पार्वत गुरुङले बताउनुभयो ।
मन्त्री गुरुङका अनुसार अब २५ सहरी क्षेत्रमा वैशाख मसान्तसम्म शैक्षिक संस्था, विद्यालय, तालिम केन्द्र, ट्युसन सेन्टर खुल्ने छैनन् । विद्यालय बन्द भएका क्षेत्रमा अब भर्चुअल माध्यमबाट कक्षा सञ्चालन गर्नुपर्नेछ ।
नेपालमा पछिल्लो समय कोरोना भाइरसको नयाँ भेरियन्ट देखिएपछि सरकारले कैयौं प्रतिबन्धात्मक आदेश जारी गरेको छ । हाल फैलिरहेको कोरोना बालबालिकामा समेत देखिएको चिकित्सकहरु बताउँछन् ।