काठमाडौं । थालिस्मिया रोगबारे जनचेतना जगाउने उदेश्यले बास्तविक कथामा आधारित गीत ‘सोचे भन्दा फरक संसार’ दर्शकमाझ आएको हो । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडिओ सार्वजनिक गरिएको छ ।
१७ वर्ष थालिस्मिया रोगबाट आफ्नो छोरीको उपचारका लागि छोरा जन्माएर छोरीलाई बोनम्यारो प्रत्यारोपन गराई बचाउन सफल बुबा राजु केसीले यो गीत लेख्नुभएको हो । यो गीतलाई रामकृष्ण ढकाल र अधिकारीले गाउनुभएको छ ।
गीतको भिडिओमा रामकृष्णले थालिस्मिया रोग पीडित रोजिना खत्रीका पिता राजुको भूमिका निर्वाह गर्नुभएको छ । आफ्नो भाई जन्मेपछि भाइबाट बोनम्यारो प्रत्यारोपण गराएर १७ वर्षलामो थालिस्मिया रोगबाट हालै मुक्त भएकी रोजिनाको वास्तविक कथा यो गीतमा शब्द र भिडिओबाट प्रस्तुत गरिएको छ ।
यो गीतको भिडिओमा रामकृष्णसँगै अस्मिता अधिकारी, नयाँ खत्री, जोहन खत्री, शम्भुजित बासकोटा, कृष्ण मल्ल, शर्मिला मल्ल, सन्तोष पन्त, निर्मल शर्मा, जीतु नेपाल, कर्ण शाक्य, पुष्कर शाह, अरुणेश्वर खनाललगायतले यसमा अभिनय गर्नुभएको छ ।
भिडिओ लोकार्पण समारोहमा गीतकार राजु केसीले थालिस्मिया रोगबाट छोरी ग्रस्त भएपछि १७ वर्षसम्म छोरीको उपचारमा भोगेको पीडाबारे जानकारी गराउनुभयो । यही रोगको बारेमा जानकारी दिन ‘सोचे भन्दा फरक संसार’ गीत तयार गरेर भिडिओ ल्याएको बताउनुभयो ।
लामो समय अमेरिका बसेर आएकी रोजिनाले आफू पूर्ण निको हुने लाखौंमा एक भएको जानकारी गराइन्। उनले अब नेपाल नै बसेर थालिस्मिया रोगीको सेवा गर्ने बताएकी छिन् । उनी अहिले पढ्दै छिन् ।
आइरिय मिडियाले निर्माण गरेको यो भिडिओलाई अशोक भुजेलले निर्देशन गर्नुभएको हो । इश्वर सिन्केमान र बिनय तामाङले खिचेको यो भिडिओलाई आईरिस मिडियाबाट रिलिज गरिएको छ ।