बैतडी । बैतडीमा बाटोको विषयलाई लिएर गाउँलेहरुबीच भएको विवादमा डोजरले आक्रमण गर्दा आठ जना घाइते भएका छन् । दुईको अवस्था गम्भीर छ ।
दशरथचन्द नगरपालिका–९ ग्वाल्लेकमा कच्ची सडक निर्माणका विषयमा विवाद भएपछि डोजर चालकले डोजरमार्फत आक्रमण गरेका हुन् । त्यसक्रममा स्थानीय गौरा जोशी, सुरेशप्रसाद जोशी, नारायण जोशी, सन्तोष जोशी, पुष्कर जोशी, दिनेश जोशी, भोजराज जोशी र धर्मानन्द जोशी घाइते भएका छन् ।
गौरा र सुरेश गम्भीर घाइते भएका छन् । घाइतेमध्ये गौरा अचेत छिन् । गौरालाई चालकले डोजरको बकेटले आक्रमण गरेको भिडियोमा देखिन्छ । गम्भीर घाइते दुवै जनालाई उपचारका लागि जिल्ला अस्पताल बैतडी लगिएकोमा त्यहाँ उपचार हुन नसकेपछि कोहलपुर रेफर गरिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए ।
सुण्नाखानदेखि पार्ससम्मको सडक निर्माणका विषयमा दुई पक्षबीच कुराकानी नमिल्दा झडप भएको थियो । सडक लैजान नदिने र सडक लैजानुपर्छ भन्ने पक्षबीच विवाद हुँदा झडप भएको प्रहरीले जनाएको छ । यसैबीच डोजरले गाउँलेमाथि आक्रमण गर्ने चालक पक्राउ परेका छन् ।
डोजर चालकले महिलालाई डोजरले हुत्याएको भिडियो सार्वजनिक भएपछि दशरथचन्द नगरपालिका–२ देहीमाण्डौंका किशोर बोहरालाई नियन्त्रणामा लिएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारीदिए । बोहरामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसका साथै अन्य तीन जनालाई पनि पक्राउ गरी अनुसन्धान थालिएको छ ।