काठमाडौं । चीनको उहानमा भइरहेको सातौँ विश्व सैनिक खेलकूद प्रतियोगितामा बक्सिङमा नेपालले म्यान्मारलाई पराजित गरेको छ ।
४९ किलो तौल समूहमा नेपाली सेनाका जमदार तेजबहादुर देउवाले म्यान्माका खेलाडी माउङक्याव हलालाई ४–१ अंकका आधारमा पछि पार्दै प्री–क्वाटरफाइनलमा प्रवेश गरे । देउवाले अर्को खेल कात्तिक ४ गते गोयनाका खेलाडी लिविस कोलिनसँग खेल्नेछन् ।
शनिबार नै भएको ९१ किलो बढीको तौल समूहको बक्सिङमा नेपाली सेनाका अमल्दार आशिष दवाडी नाइजेरियाका काजिम समसोनसँग ३–२ अंकका आधारमा पराजित भए ।
त्यस्तै आजै जुडो (महिलातर्फ), घोडचढी, फेन्सिङ र बीच भलिबल प्रतियोगितामा नेपाली खेलाडी पराजित भएका छन् । ‘इन्टरनेशनल मिलिटरी स्पोर्टस् काउन्सिल (सिआइएसएम)’ले प्रत्येक चार वर्षमा गर्ने यो प्रतियोगितामा नेपाली सेनाले पहिलो पटक भाग लिएको हो । प्रतियोगितामा नेपाली सेनाले १३ खेलमा प्रतिस्पर्धा गर्दैछ ।