महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित मझगाउँ विमानस्थलमा ५० सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने प्राविधिक समितिले निष्कर्ष निकालेको छ ।
दुई दशक अघिदेखि बन्द मझगाउँ विमानस्थल सञ्चालनबारे अध्ययन गर्न गएको प्राविधिक टोलीले शनिबार पत्रकार सम्मेलन गरी अध्ययन प्रतिवेदनबारे जानकारी दिएको हो ।
स्थलगत अनुगमन तथा विमानस्थलको अवस्थाबारे टोलीले मन्त्रालयमा प्रतिवेदन पेश गर्ने जनाएको छ । विमानस्थलसँगै जोडिएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जलाई असर पर्ने वा नपर्ने विषयमा पनि सो टोलीले अध्ययन गरेको छ ।
टोलीका प्रमुख रियलपात ईन्जिनियरीङ कन्सलटेन्सीका ईन्जिनियर गुरुदत्त अधिकारीले मझगाउँ विमानस्थलमा जहाज सञ्चालन गर्दा समस्या नहुने बताए । पत्रकार सम्मेलनमा क्याप्टेन बेद उप्रेतीले मझगाउँ विमानस्थलको थप एक हजार पाँच सय मिटर जग्गा अधिग्रहण गरेर यहाँ ७२ सिट क्षमताको जहाज सञ्चालन गर्न सकिने बताए ।
झण्डै ६५ विघा क्षेत्रफलमा फैलिएको मझगाउँ विमानस्थलको लम्बाइ एक हजार छ सय ६५ मिटर तथा चौडाइ पाँच सय मिटर रहेको छ । विसं २०५६ देखि विमानस्थल बन्द छ ।
लामो समयदेखि विमानस्थल बन्द भएपछि स्थानीयले पुनः सञ्चालनका लागि दबाब दिँदै आएका छन् । विमानस्थल पुनः सञ्चालनका लागि पूर्व जिल्ला वन अधिकृत रमेश चन्दको नेतृत्वको टोलीले लामो समयदेखि दबाब दिँदै आएको छ ।
विसं २०५६ देखि असुरक्षाका कारण उडान बन्द गरिएको विमानस्थल पुनः सञ्चालनका लागि दबाब बढेपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विमानस्थल सञ्चालनबारे अध्ययन गर्न प्राविधिक टोली पठाएको हो।
टोलीले विमानस्थलको पुराना भौतिक संरचना, हवाइमैदान, रन–वे, विमानस्थलको लम्बाइ/चौडाइलगायतको प्राविधिक तथा अन्य विषय प्रतिवेदनमा समेटेको छ । सो टोली चार दिन पहिले कञ्चनपुर पुगेको थियो ।