प्रकाश थापामगर/गोविन्दकुमार शर्मा
काठमाडौँ ।।
अखिल नेपाल महिला सङ्घकी अध्यक्ष मीना पुनले महिला हिंसाको विरुद्धमा सरकार गम्भीर हुनुपर्ने आवश्यकता औल्याउनुभएको छ ।
राष्ट्रिय जनमोर्चा काठमाडौँद्वारा भागरथी भट्टको बलात्कार तथा हत्या प्रकरणको विरोधमा आज २०७७ माघ २६ गते शान्तिवाटिकामा आयोजित विरोधसभामा प्रमुख अतिथिको रूपमा मन्तव्य राख्दै उहाँले सो अभिव्यक्ति दिनुभएको हो ।
‘हाम्रो समाज किन यति बढी अपराधिक भइरहेको छ ? पारिवारिक÷सामाजिक संयमता र अनुशासन किन दिनदिनै भङ्ग हुँदै गइरहेको छ ?’ समसामयिक विषय उठान गर्दै उहाँले भन्नुभयो– ‘सरकार महिला हिंसा विरुद्ध गम्भीर हुनुपर्दछ, नत्र हाम्रो समाज बस्नलायक रहने छैन ।’
उहाँले भन्नुभयो– ‘सरकारले देशमा महिला तथा बालबालिकाहरू सहज रूपमा हिँड्न सक्ने वातावरण तयार पार्नुपर्दछ ।’
सम्बोधनको क्रममा उहाँले पछिल्लो सात वर्षमा १४ हजारभन्दा बढी महिला हिंसा भएको सरकारी तथ्याङ्क स्मरण गर्दै पछिल्ला दिनमा सुदूर पश्चिम क्षेत्रमा पनि महिला तथा बालहिंसा बढेर गएको बताउनुभयो ।
उहाँले महिला हिंसा न्यूनीकरणमा ध्यान केन्द्रित गर्नुको सट्टा उल्टै विरोधको आवाजमाथि दमन गर्नेतर्फ ध्यान केन्द्रित गरिरहेकोमा सरकारलाई असक्षमसमेतको सङ्ज्ञा दिनुभयो ।
हिजो माघ २५ गते भागरथी प्रकरणमा विरोधको विद्यार्थीहरूले आवाज बुलन्द गर्न खोज्दा काठमाडौँमा भएको प्रहरी दमनको सन्दर्भमा उहाँले यस्तो अभिव्यक्ति दिनुभएको थियो ।

राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य तथा गण्डकी प्रदेशकी सांसद पियारी थापा (सुप्रभा) ले भागरथी प्रकरणमा सरकारको निकम्मापन अभिव्यक्त भएको बताउनुभयो ।
महिलाको सुरक्षाको सवालमा सरकार हास्यास्पद अवस्थामा रहेको बताउँदै उहाँले आश्चर्य व्यक्त गर्नुभयो– ‘बालिकाको बलात्कारपछि हत्या गर्ने अपराधीलाई गिरफ्तार गर्न नसक्नेले विरोध प्रदर्शन गर्नेलाई गिरफ्तार गर्नुभन्दा अरू हास्यास्पद के हुन सक्छ ?’
उहाँले सरकारबाट महिला हिंसा न्यूनीकरणको पक्षमा आसा गर्न सकिने स्थिति नरहेको बताउँदै त्यसका लागि आन्दोलनको आँधीबेहरी सृजना गर्नुपर्ने बताउनुभयो ।
उहाँले भन्नुभयो– ‘लाखौँ जनताको आन्दोलनको आँधीबेहरीले मात्रै भागरथी भट्टका अपराधीलाई कानुनको दायरामा ल्याउन सक्छ ।’
उहाँले निर्मला पन्तको नियति दोहोरिन नदिन पनि सशक्त जनआन्दोलन उठाउनुको विकल्प नरहेको बताउनुभयो ।

अखिल नेपाल युवक सङ्घका अध्यक्ष अनिलकिशोर घिमिरेले देशमा राज्य भए पनि निर्धा, निमुखाका लागि राज्य भएको अनुभूति हुन नसकेको बताउनुभयो ।
भागरथी भट्टको प्रसङ्ग उठाउँदै उहाँले भन्नुभयो– ‘राज्यको यस खालको निकम्मा प्रवृत्तिले गर्दा नै महिला तथा बालहिंसाले प्रश्रय पाइरहेको छ ।’
उहाँले सामाजिक न्यायका लागि मात्रै नभएर सामाजिक सुरक्षाका लागि पनि जनताले आन्दोलन गर्नुपर्ने आवश्यकतामा जोड दिनुभयो ।
उहाँले देशमा राज्य रहेको अनुभूति दिन भागरथी भट्टका दोषी पत्ता लगाएर अविलम्ब कडा कानुनी कारबाही हुनुपर्नेमा जोड दिनुभयो ।

अखिल (छैठौँ) का अध्यक्ष विमल पोखरेलले सुदूर पश्चिममा गत वर्षदेखि यता निर्मला पन्त, सम्झना विक हुँदै हाल आएर भागरथी भट्ट प्रकरण सार्वजनिक भएबाट सरकार महिला हिंसाप्रति कहिल्यै गम्भीर नभएको आरोप लगाउनुभयो ।
‘गृहमन्त्रीले नै भन्छन्, बलात्कार, हत्या युरोप अमेरिका पनि हुन्छ’ पोखरेलले भन्नुभयो– ‘जब सरकारको मनस्थिति नै यस्तो हुन्छ भने जनताले उनीहरूबाट के आसा गर्ने ?’
उहाँले भन्नुभयो– ‘आफ्ना छोरीचेलीको अस्मिताको रक्षा गर्न नसक्ने गृहमन्त्रीले आजै पदबाट राजीनामा दिए हुन्छ ।’
उहाँले छिमेकी देश भारतमा निर्भया सामूहिक बलात्कारका विरुद्ध सशक्त आन्दोलन उठेको र त्यसको बलमा दोषीलाई फाँसी दिइएको प्रसङ्ग उठाउँदै नेपालमा त्यस खालको आन्दोलन उठ्न नसकेकोमा चिन्ता व्यक्त गर्नुभयो ।
उहाँले देशमा भागरथीजस्तो प्रकरण सतहमा आइरहँदा केही विद्यार्थी सङ्गठनले सत्तापक्षको तावेदारी गरिरहेको प्रसङ्गमा त्यो भन्दा ठुलो विडम्बना कुनै नभएको बताउनुभयो ।
उहाँले युवाविद्यार्थी सङ्गठनहरूसित आन्दोलनमा सहकार्य गर्न आह्वान पनि गर्नुभयो ।

नेकपा (मसाल) काठमाडौँका प्रवक्ता जगत्प्रसाद रेग्मीले अहिले सडकमा शक्ति प्रदर्शन गर्नेहरूले भागरथी भट्ट प्रकरणमा आवाज नउठाएकोमा सत्ताइतर नेकपाको विरोध गर्नुभयो ।
नेकपाको सरकारले कम्युनिस्टको नाममा भ्रम फैलाउने वा कम्युनिस्टलाई बद्नाम गर्ने काम गरिरहेको बताउँदै उहाँले भन्नुभयो– ‘यो सरकार कम्युनिस्टको हुँदै होइन ।’
उहाँले वास्तविक कम्युनिस्ट पार्टीको सरकार भएको देशमा यस खालको बेथिति नहुने पनि उहाँले ठोकुवा गर्नुभयो ।

कार्यक्रमको अध्यक्षता राष्ट्रिय जनमोर्चाकी केन्द्रीय सदस्य कल्याणी श्रेष्ठले गर्नुभएको थियो भने सञ्चालन अखिल नेपाल महिला सङ्घकी केन्द्रीय कोषाध्यक्ष ऋतु केसीले ।

