काठमाडौं । राष्ट्रिय क्रिकेट टिमका कप्तान पारस खड्काले पद छाड्ने घोषणा गरेका छन् । मंगलबार विज्ञप्ति प्रकासित गरी खड्काले आफूले अहिलेदेखि नै लागू हुने गरी नेपाली क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।
सोमबारमात्रै नेपाली क्रिकेटमाथि आइसीसीले लगाएको निलम्बन फुकुवा गरेको थियो । सोको खुशीयाली मनाइरहँदा पारसले कप्तानी छाड्ने घोषणा गरेका हुन् ।
पारसले विज्ञप्तिमा नेपाली क्रिकेटमाथि लागेको निलम्बन फुकुवा भएको थाहा पाउँदा निकै खुशी लागेको बताएका छन् । उनले समितिले नेपाली क्रिकेट, खेलाडी तथा सरोकारवालाहरुको राम्रा लागि गरोस भन्ने कामनासमेत गरेका छन् ।
पारस सन् २००४ देखि नेपाली सिनियर टोलीका सदस्य भएका थिए। सन् २००९ देखि विनोद दासको स्थानमा कप्तानी सम्हालेका पारसले नेपाललाई डिभिजन ५ हुँदै एकदिवसीय अन्तर्राष्ट्रिय ऐतिहासिक मान्यता समेत दिलाएका थिए। आधुनिक नेपाली क्रिकेटमा पारस सबैभन्दा सफल खेलाडी हुन्।
पारसले २००२ मा यूएईमा भएको यु–१५ एसिया कपमा पहिलोपटक नेपालको जर्सी लगाएका थिए । अर्कोवर्ष उनले १९ वर्षमुनीको नेपाली टोलीबाट खेले। त्यसबेला कराचीमा भएको यूथ एसियाकपमा पारसले भारतविरुद्ध खेल्ने मौका पाएका थिए ।
सन् २००४ मा पहिलोपटक बंगलादेशमा भएको एसीसी यू–१९ विश्वकप खेलेको पारस सहितको टोलीले दक्षिण अफ्रिकालाई हराएको थियो ।
सन् २००४ मा नै उनले एसिसी इन्टरकन्टिनेन्टल कप अन्तर्गत काठमाडौंमा भएको मलेसियाविरुद्धको खेलबाट सिनियर टिममा डेब्यू गरेका थिए ।
सन् २००५ उनी यू–१९ टिमको उपकप्तान भएको टोलीले २००६ मा श्रीलंकामा खेलेको आइसीसी यू–१९ वल्र्डकप प्लेट च्याम्पियनसिपमा दक्षिण अफ्रिकालाई सेमिफाइनलमा र न्युजिल्याण्डलाई फाइनलमा पराजित गर्दै उपाधि जितेको थियो ।
पारसले सन् २००७ मा मलेसियामा भएको एसीसी यु–१९ च्याम्पियनसिपबाट सो उमेर समूहको टोलीको कप्तानी सम्हाले । सोही प्रतियोगिताको उनी उत्कृष्ट खेलाडी पनि घोषित भए भने त्यसै वर्ष एसीसी इमर्जिङ प्लेयर अफ द इअरको अवार्ड हात पारे ।