पोखरा । पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले बुधबार पोखरामा क्रस–कन्ट्री दौडको आयोजना गरिएको छ । सो दौडमा नेपाली र चिनियाँ धावकहरु सहभागी हुनेछन् ।पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ तथा कुन्मिन माउण्टेनियरिङ एण्ड एक्सप्लोरेसन एसोसियसनको आयोजना एवं पोखरा र कुन्मिन महानगरपािलकाको संरक्षकत्वमा विभिन्न संघ/संस्थाहरुको सहकार्यमा सो दौडको आयोजना हुन लागेको हो ।
दौडबारे जानकारी दिन सोमबार आयोजित पत्रकार सम्मेलनमा प्रतियोगितका संयोजक तथा पोखरा उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष विश्वशंकर पालिखेले प्रतियोगितामा चीनका करिब ३० जना धावक, त्यहाँका विभिन्न संचारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली सहभागि हुने जानकारी दिए । दौडमा नेपालको तर्फबाट २५ टिमसहित करिब १ सय ५ जना खेलाडीहरुले सहभागिता जनाउने छन् ।
दौड पोखराको पर्यटकी क्षेत्र बैदामको बाराही चोकबाट असोज २९ गते बिहान ८ बजे सुरु हुनेछ । दौडको दूरी २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १–२ किलोमिटर बोटिङ हुनेछ भने मट्टिखान तथा पुम्दीभुम्दीको १३ सय मिटरको उचाईसम्म धावकहरु पुग्नेछन् । दौडको समापन पुनः बाराही घाटमा नै हुनेछ ।

