काठमाडौं । अखिल नेपाल शिक्षक संघले कोरोना भाइरसको संक्रमणका कारण शैक्षिक क्षेत्रमा परेको असर कम गर्न चालु शैक्षिक सत्रमा तीन महिना थप गर्न माग गरेको छ । संघको यही पुष ४ गते बुटवलमा सम्पन्न बैठकले चालु शैक्षिक सत्रमा तीन महिना थप गर्ने र अर्को शैक्षिक सत्र दुई महिना बढाउने गरी पठन पाठन पुरा गर्न माग गर्ने निर्णय गरेको हो ।
बैठकमा उपस्थित हुनुभएका संघका पूर्व अध्यक्ष एवम् पूर्व सांसद हरि आचार्यले एसईईको परीक्षा पालिकास्तरबाटै लिन र कक्षा १२ को परीक्षा राष्ट्रिय परीक्षा बोर्डबाट लिने व्यवस्था मिलाउन माग गरिएको बताउनुभयो । यस्तै, उच्चस्तरीय शिक्षा आयोगको प्रतिवेदन सार्वजनिक गरेबापत आयोगका सदस्यहरुलाई कारबाही गर्ने सरकारको चेतावनी गैरजिम्मेवारीपन भएको पनि शिक्षक संघले ठहर गरेको छ ।
यसैगरी संघका अध्यक्ष सानुभाइ कार्की शिक्षकहरुको साझा संस्था अखिल नेपाल शिक्षक महासंघको वार्ता समितिको संयोजक चुनिनुभएकोमा बैठकले महासंघको आन्तरिक किचलो हल गर्न र शैक्षिक मुद्दामा एकतावद्ध बनाउन उहाँलाई सफलता मिलोस् भन्ने कामना पनि गरेको छ ।
बैठकपछि महासचिव चक्रपाणी पौडेलले आइतबार जारी गर्नुभएको प्रेस विज्ञप्तिमा विभिन्न विद्यालयमा अध्यापनरत शिक्षकहरुलाई पारिश्रमिक नदिने, सेवाबाटै बर्खास्त गर्ने जस्ता काम भइरहेको भन्दै त्यसको निन्दा गर्नुभएको छ । यस्ता गतिविधि बन्द नगरिए शिक्षक संघ आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिइएको छ ।
यस्तो छ महासचिव पौडेलद्वारा जारी वक्तव्य
अखिल नेपाल शिक्षक संघ राष्ट्रिय समितिको तेस्रो महाधिवेशन पछिको पाँचौ बैठक मिति २०७७ पौष ४ गते अध्यक्ष सानुभाइ कार्कीको अध्यक्षतामा बुटवलमा सम्पन्न भएको छ । बैठकले कोभिड १९ को कारण अनियमित भएका सांगठानिक गतिविधि स्थानिय तहदेखि जिल्ला तहसम्मका बैठक, भेला र परिषद् गरी संगठनलाई सुध्र्रिढीकरण गर्ने, अवरुद्ध मुखपत्र जनशिक्षा वर्ष १२ अंक १० प्रकाशन गर्ने, शिक्षा क्षेत्रका बर्गेल्ती बढ्दै गएका शैक्षिक समस्या समाधानर्थ गठित महासंघमा आवद्ध यस अखिल नेपाल शिक्षक संघको नेतृत्व र सहभागितालाई थप उर्जाशील बनाउने र समाजवादी शिक्षकहरुको अन्तर्राष्ट्रिय संस्था ‘डब्लुएफटीओ’ को नेपाल च्याप्टर ‘एफआईएसई’ मा सहभागी भई वर्ग संर्घषलाई उठान गर्दै समाजवादी वैचारीक स्पटताको साथ शिक्षकहरुलाई गोलबन्द गर्ने लगायत तपशिलका समसामयिक शैक्षिक विषयमा गभ्मीर छलफलसहित बैठक सम्पन्न भएको छ ।
१. नेपाली शिक्षक कर्मचारीको आशा भरोसाको केन्द्र र नेपालको शैक्षिक क्षेत्रका समस्या समाधानको अगुवा साझा संस्था नेपाल शिक्षक महासंघ आन्तिरिक द्वन्द (किचलो) तत्काल अन्त्य गरी राष्ट्रिय रुपमा शिक्षकका संस्थाहरु एकतावद्ध भइ सरकारसँग विगतमा सहमति भएका शैक्षिक मागहरु कार्यान्वयनमा जोड दिनु पर्ने ।
२. पाठ्यक्रम र नेपाल सरकार शिक्षा मन्त्रालयद्वारा निर्देशित कक्षा ११ को नयाँ पाठ्यक्रम लागू गरिएको विषयलाई सर्वोच्चले ५ लाख विद्यार्थीको पठनपाठन क्षति हुने र आफ्नो छवी नै विग्रने गरी फैसला नगर्नु ठुलो गैर जिम्मेवारी भएको ठहर गर्दै तत्काल नयाँ पाठ्क्रम कार्यान्वय गरिनु पर्ने ।
३. कोभिड १९ को महामारीको कारण शैक्षिक गतिविधि ठप्प हुँदा भएको शैक्षिक क्षति र गुणस्तरलाई ख्याल गर्दै यस वर्ष शैक्षिक सत्र ३ महिना थप गरिनु पर्ने ।
४. नेपाल सरकारले नयाँ दरवन्दी थप गर्ने योजना बिना र शिक्षक महासंघको सहकार्य बिना नै दरबन्दी मिलानको बेमौसमी बाजा बजाउनु उचित नभएको ठहर गर्दै आवश्यक दरवन्दीको व्यवस्थापन गरी दरवन्दी मिलान गर्नु पर्ने ।
५. कोरोना भाइरस कोभिड १९का कारण विद्यालय बन्द भएको वहानामा विशेष गरी संस्थागत विद्यालय र कतिपय सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीलाई अवकाश गर्ने र पारिश्रमीक नदिने जस्ता पेशाकर्मीमाथि गरिएको अमानवीय व्यवहार प्रति घोर निन्दा गर्दै अविलम्व ती पीडित शिक्षाकर्मीहरुलाई अवकाश भएको भए पुनर्वाहाली गर्ने र पारिश्रमिक नपाएको भए उपलव्ध गराउनु पर्ने ।
यी समसामयिक विषयमा सम्वन्धित निकायको ध्यान आकर्षण गर्दै उक्त कार्य नभएमा अखिल नेपाल शिक्षक संघ आन्दोलनमा उत्रिन बाध्य हुने समेत यसै विज्ञप्ती मार्फत अवगत गराउँछौ ।
महासचिव
चक्रपाणि पौडेल