तिलक थापा, बागलुङ ।
राष्ट्रिय जनमोर्चा बागलुङले ‘गणतन्त्र, राष्ट्रियता र धर्मनिरपेक्षताको रक्षा गरौँ, संघीयता र भ्रष्टाचारको विरोध गरौँ’ भन्ने नाराका साथ आज (शुक्रबार) बागलुङ बजारमा मोटरसाइकल र्यालीसहित विरोध सभा गरेको छ ।

जुलुसपछि आयोजित विरोध सभालाई सम्बोधन गर्दै राष्ट्रिय जनमोर्चाका नेता तथा गण्डकी प्रदेश मामिला सभापति कृष्ण थापाले संघीयता नेपालमा असफल बन्दै गएको बताउनु भयो । उहाँले राष्ट्रियता कमजोर बन्दै गएको बेला सरकारले जनअपेक्षा अनुसार काम गर्न नसकेको भन्दै संघीयता बिरुद्धको आन्दोलन सशक्त बनाउन आग्रह गर्नुभयो ।

त्यस्तै, राजमो केन्द्रीय सदस्य तथा जिल्ला समन्वय समितिका प्रमुख राजेन्द्र ढुंगानाले पनि सम्बोधन गर्नुभएको थियो । विरोध सभाको सञ्चालन जिल्ला सचिव भिमलाल पोखरेलले गर्नु भएको थियो ।

बिभिन्न ठाउँबाट आएको मोटरसाइकल जुलुस राष्ट्रिय जनमोर्चा कार्यालयबाट सुरु भई चिप्लेटी बसपार्क, रुद्रेपिपल, अस्पताल लाइन, धवलागिरी चोक, जिपपार्क, क्याम्पस गेट, दर्शन ट्रान्सपोट, एटीएम चोक, शिवधारा चोक, राधाकृष्ण मन्दिर, लालिगुराँस चोक, धवलागिरी चोक, लोकतान्त्रिक चोक, उद्योग वाणिज्य संघ रोड, जिल्ला प्रशासन चोक, जनमोर्चा कार्यालय चोक, समिट चोक, हल्लन चोक हुँदै लोकतान्त्रिक चोकमा पुगेर बिरोध सभामा परिणत भएको थियो ।