काठमाडौं । यौन दुराचारको आरोप लागेका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको छ ।
पीडित रोशनी शाहीले प्रहरीमा महराविरुद्ध किटानी जाहेरी दिएपछि प्रहरीले महरालाई पक्राउ गर्न अदालतसँग अनुमति मागेको थियो । जिल्ला अदालत काठमाडौंका न्यायाधीश ब्रजेश प्याकुरेलको इजलासले महरालाई पक्राउ गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।
यससँगै निवर्तमान सभामुख महरालाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई बाटो खुलेको छ । तर पक्राउ गर्नुअघि संसदले निलम्बनको प्रक्रिया पुरा गर्नुपर्नेछ ।
प्रहरी स्रोतका अनुसार महरा अझै पनि सांसद रहेका कारण बहालवाला सांसदलाई पक्राउ गर्ने प्रक्रिया अनुसार उनलाई पक्राउ गर्ने तयारी गरिएको छ ।
प्रारम्भिक अनुसन्धनबाट असोज १२ गते राति तत्कालीन सभामुख महरा तीनकुनेस्थित रोशनीको भाडाको कोठामा गएको पुष्टि भएको छ। जाहेरीपछि पीडित महिलाको स्वास्थ्य जाँच गरी मुद्दा प्रक्रिया अघि बढाएको हो।महरा पीडितको कोठामा जाँदाको सीसीटीभी फुटेजसमेत प्रहरीले पाएको छ । महराले प्रयोग गर्ने मोबाइलको कलअनुसारको लोकेसन समेत संकलन गरेको छ ।
आइतबार राति घटना भए लगत्तै शाहीले प्रहरीको इमर्जेन्सी हटलाइन १०० मा फोन गरी सभामुखले आफूलाई बलात्कार गरेको उल्लेख गरेकी थिइन् । सो जानकारी पाए लगत्तै वानेश्वर वृत्तका प्रमुख डीएसपी दुर्गाराज रेग्मी नेतृत्वको टोलीले घटनास्थलको प्रारम्भिक मुचुल्का उठाएको थियो ।
घटनास्थलबाट महराले पिएको रक्सको बोतल, फुटेको चस्माको सिसा, जुत्ताको तुलवा बरामद गरेको थियो । ती सामग्रीको फोरेन्सिक जाँच भइरहेको छ ।
घटना सार्वजनिक भएपछि सभामुखबाट राजीनामा दिएका महराविरुद्ध पक्राउ गर्न चौतर्फी दबाब बढेको छ । हालैमात्रै संयुक्त राष्ट्रसंघसहित ६ वटा देशले महरनाको नाम नलिएरै महिला हिंसाका पीडकलाई कारबाही गर्न माग गरेका थिए ।