काठमाडौँ । दर्शनशास्त्रका अध्येता रामराज रेग्मीले द्वन्द्ववाद र भौतिकवाद पश्चिमबाट आएको धारणा गलत भएको बताउनुभएको छ ।
हिमाली दर्शनमा द्वन्द्ववाद र भौतिकवाद’ को बारेमा प्रगतिशील लेखक सङ्घ, नेपालको आयोजनामा भर्चुअल माध्यमबाट २०७७ मङ्सिर ५ गते सम्पन्न अड्तिसौँ परिसंवाद कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै उहाँले सो धारणा व्यक्त गर्नुभएको हो ।
केन्द्रीय अध्यक्ष प्रा.डा. जीवेन्द्र देव गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा विषयवस्तु प्रस्तुत गर्दै रेग्मीले अब भारतीय दर्शन होइन, हिमाली दर्शन भनिनुपर्ने बताउनुभयो । पछिल्लो समयमा भारतको हस्तक्षेपकारी भूमिकाका कारण अब भारतीय दर्शन होइन, हिमाली दर्शन भन्नु उपयुक्त हुने उहाँको तर्क थियो ।
दर्शनको क्षेत्रमा द्वन्द्ववाद र भौतिकवादी अवधारणा पश्चिमबाट आएको भन्ने तर्क गलत रहेको बताउँदै उहाँले वेदमा नै भौतिकवाद र द्वन्द्ववादका तत्त्वहरू रहेको उहाँले दावी गर्नुभयो । हिमाली क्षेत्रको दर्शनमा चार्वाकदेखि मात्र भौतिकवाद र द्वन्द्ववादको चर्चा गरिनुलाई उहाँले गलत बताउनुभयो । पश्चिमका दार्शनिकहरू ल्युपिकस र डेमोक्रिटसले भौतिकवादको चर्चा गर्नुअघि नै उद्दालक आरुणीले उपनिषद् कालमा भौतिकवादको चर्चा सुरु गरेको उहाँले बताउनुभयो ।
त्यसैगरी, ऋग्वेदको दशौँ सूक्तमा द्वन्द्ववादको महत्त्वपूर्ण नियम निषेधको निषेध अभिव्यक्त दावी गर्नुभयो । उहाँले भन्नुभयो– ‘दिनलाई रातले, रातलाई उषाले र उषालाई दिनले निषेध गर्ने ऋग्वेदको तर्क द्वन्द्ववाद नै हो ।’ त्यस्तै, न्यायदर्शनमा पपिन पक्ष–संशय, प्रतिपक्ष–संशय हुँदै सत्य निरूपणतर्फ जाने द्वन्द्ववादी तर्क पनि हिमाली दर्शनमा रहेको उहाँले बताउनुभयो ।
केन्द्रीय उपाध्यक्ष गोपिरमण उपाध्यायको अध्यक्षता तथा महासचिव समीर सिंहको सञ्चालनमा अघि बढेको उक्त प्रमुख अतिथि प्रा.डा. जीवेन्द्र देव गिरीले मन्तव्य राख्नुभएको थियो ।
कार्यक्रममा डा. शम्भु कट्टेल, लक्ष्मीशरण अधिकारी, जीवनारायण खनाल र अर्जुन पौडेलले पूरक टिप्पणी राख्नुभएको थियो ।