बुटवल । रक्तिम सांस्कृतिक अभियानका अध्यक्ष रेम रानाले कलाकारमा अनुशासनको उच्च महत्व रहने बताउनुभएको छ । रक्तिम सांस्कृतिक अभियानको बुटवलमा ६ दिनदेखि चलेको प्रशिक्षणको बिहीबार समापन गर्दै अध्यक्ष रानाले अनुशासन विना कलामा जतिसुकै पोख्त भएपनि त्यसले सर्वहारा वर्गको हित नगर्ने बरु वुर्जुवा कलाकार बनाउने बताउनुभयो ।
‘रक्तिम सांस्कृतिक अभियानले जहिले पनि उच्च अनुशासित र सर्वहारा वर्गीय संस्कृति निर्माणमा जोड दिएको छ’ अध्यक्ष रानाले भन्नुभयो, ‘सर्वहारा क्रान्तिका लागि उच्च अनुशासित संगठन आवश्यक पर्छ । जनपक्षीय कलाकार त्यस्तो अनुशासनमा बस्न नसके वुर्जुवा कलाकार बन्न पुग्छ ।’ अध्यक्ष रानाले कलासँगै विचारको क्षेत्रमा पनि आफूलाई उठाउन कलाकारहरुसँग आग्रह गर्नुभयो ।
रक्तिम सांस्कृतिक अभियानका सल्लाहकार नारायण योगीको अध्यक्षता र सुशीला थापाको सञ्चालनमा अघि बढेको समापन समारोहमा उद्योग तथा व्यापार संगठनका केन्द्रीय अध्यक्ष ढुण्डीराज पौडेल, अखिल नेपाल किसान महासंघका उपाध्यक्ष चन्द्रबहादुर केसी, अखिल (छैठौं) का केनद्रीय सदस्य खगेन्द्रा विष्ट, समता समाजका सल्लाहकार राजेश विक, राजमो क्षेत्रीय कार्यालयका सचिव भिमलाल न्यौपाने, प्रलेस जिल्ला सदस्य टेकराज भुसाल (टेकु), प्रशिक्षकका तर्फबाट जीवन पुन र प्रशिक्षाथीहरुका तर्फबाट लुमाकान्त पुन (प्युठान) र ललिता विक (सिन्धुली) ले शुभकामना दिनुभएको थियो ।
राजमो क्षेत्रीय कार्यालय बुटवलमा असोज ११ देखि जारी प्रशिक्षणमा गायन, वादन, नृत्य तथा अभिनयसँगै सैद्धान्तिक र राजनीतिक प्रशिक्षण दिइएको थियो ।

