नेपाल टेलिकमले फोरजी/एलटीई सेवाको औपचारिक सुरुवात बुधबारदेखि गर्दैछ । सो सेवाको नेटवर्क सातै प्रदेशका प्रमुख शहरहरुमा विस्तार गरेको अवसरमा बुधबार (असोज १५ गते) प्रधानमन्त्री केपी शर्मा ओलीबाट सेवाको सफ्ट लन्चमार्फत औपचारिक शुरुवात गर्ने टेलिकमले जनाएको छ ।
हाल यो सेवा सातै प्रदेशका गरी कुल ३२ जिल्लाका प्रमुख शहरमा विस्तार गरिएको छ । यसको प्रयोग पश्चात् उच्च गतिको इन्टरनेट सेवामार्फत भिडियो लगायतका नवीनतम सेवाहरुको प्रवाह पनि सहज हुने टेलिकमको विश्वास छ ।
विस्तारित फोरजी/एलटीई सेवा एलटीई एड्भान्स्ड प्रविधिमा आधारित हुने भएकाले केही स्थानमा भविष्यमा ल्याइने फाइभजी सेवाको पनि प्रारम्भिक परीक्षण सञ्चालन गर्न सकिने छ ।
नेपाल टेलिकमले देशमै पहिलो पटक वि.सं. २०७३ पुस १७ मा काठमाडौं र पोखराबाट फोरजी/एलटीई सेवाको शुरुवात गरेको थियो । यस सेवाको विस्तारका क्रममा देशभर सातै प्रदेशमा सेवा सञ्चालनका लागि गत २०७५ माघ २० मा तीन वटा सम्झौता सम्पन्न भएको थियो । यसमध्ये कोर नेटवर्कका लागि चीनको जेडटीई कर्पोरेसन तथा नेटवर्क १ र नेटवर्क २ का लागि हङकङको सीसीएसआईले जिम्मेवारी पाएका थिए ।