काठमाडौँ । रक्तिम सांस्कृतिक अभियानद्वारा गत साउन १७ गतेदेखि सञ्चालन गरिएको साहित्यिक कार्यक्रम ‘रक्तिम अभियान’ समापन भएको छ । नजिकिँदै आएको दसैँतिहार र छठपर्व तथा कोरोना सङ्क्रमणयुक्त विशिष्ट परिस्थितिमाझ सो कार्यक्रम समापन गरिएको हो ।
रक्तिम सांस्कृतिक अभियानको २०७७ कार्तिक ३ गते बसेको केन्द्रीय सचिवालयको भर्चुअल बैठकले सो निर्णय गरेको हो । अध्यक्ष रेम रानाको हस्ताक्षरमा कार्तिक ६ गते जारी प्रेसवक्तव्यमा सो जानकारी दिइएको छ ।
साउनयता साहित्यिक कार्यक्रम ‘रक्तिम अभियान’ बागलुङ, रुकुम पश्चिम, अर्घाखाँची, रुपन्देही, बाँके तथा जापानमा समेत सम्पन्न भएकोमा त्यसप्रति धन्यवाद प्रकट गरिएको सो वक्तव्यको पूर्ण पाठ यस्तो छ–
“१. गत २०७७ साउन ५ गते रक्तिम सांस्कृतिक अभियान केन्द्रीय सचिवालयको भर्चुअल बैठकले साउन ७ गते केन्द्रीय समितिको बैठक, १० गते देशव्यापी रूपमा जिल्लातहका रक्तिमका समितिका पदाधिकारीको प्रशिक्षण चलाउने ठेगान गरेको थियो । त्यसैगरी साउन १७ गतेदेखि ‘रक्तिम अभियान’ काठमाडौँ उपत्यकादेखि फेसबुक अनलाइन कार्यक्रम शुभारम्भ भएको थियो । यसरी सञ्चालन भएको अभियान बागलुङ, रुकुम पश्चिम, अर्घाखाँची, रुपन्देही, बाँके तथा जापान नेपाली एकता समाजको सांस्कृतिक विभागले आफ्नो प्रस्तुति दिएका थिए ।
२. कोभिड–१९ को महामारीमा विश्व लपेटिएका बेला खुल्ला कार्यक्रमको सम्भावना नभएकाले प्रविधिको प्रयोग गर्दै ‘रक्तिम अभियान’ लाई जनतामाझ पुग्ने माध्यमको रूपमा प्रयोग गरिएको थियो । तर नजिकिएको दसैँतिहार र छठपर्वको आगमन र कोरोनाको प्रकोपको बढ्दो अवस्थालाई मध्यनजर गर्दै बैठकले उक्त कार्यक्रमलाई समापन गर्ने निर्णय गरेको छ ।
३. उक्त कार्यक्रममा सहभागी देशविदेशका सम्पूर्ण रक्तिम सांस्कृतिक अभियानका कलाकारप्रति धन्यवाद ज्ञापन गर्दछौँ ।”