काठमाडौँ । कर्णाली प्रदेश सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक गुलावजङ्ग शाहलाई मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट हटाएका छन् ।
प्रदेश संसदीय दलका नेता एवम् मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले प्रमुख सचेतक शाहलाई ‘सन्तोषजनक काम नगरेको’ भन्दै प्रमुख सचेतकबाट हटाएका हुन् ।
नेकपा मुख्यमन्त्री शाहीले सोमबार उनलाई जिम्मेवारी मुक्त गरिएको पत्र दिएका हुन्।
पत्रमा भनिएको छ– ‘तपाईंले गरेको कामकारबाही सन्तोषजनक नभएकाले आजसम्म गरेको कामका लागि धन्यवाद दिँदै तपाईंलाई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेशसभा दलको प्रमुख सचेतकको जिम्मेवारीबाट मुक्त गरेको छु ।’
मुख्यमन्त्री शाहीले सोसम्बन्धी जानकारी नेकपा कर्णाली प्रदेश, नेकपा केन्द्रीय कार्यालय र प्रदेशसभा सचिवालयलाई समेत दिएका छन् ।
मुख्यमन्त्री शाही विरुद्ध नेकपाकै १८ जना सांसदहरूले अविश्वासको प्रस्ताव दर्ता गराएपछि नेकपा कर्णाली प्रदेशमा विवाद बढेको छ ।
नेकपा प्रदेश संसदीय दलको नेता यामलाल कँडेलसहित १८ जना सांसदहरुले शाहीविरुद्ध आइतबार अविस्वासको प्रस्ताव दर्ता गराएका हुन् । त्यसबारे भोलि दिउँसो १ बजे छलफल हुने जनाइएको छ ।
नेकपा भित्र पूर्व एमाले एकजुट भएर शाहीलाई मुख्यमन्त्रीबाट हटाउन खोजिएको भन्दै नेकपामा विवाद चुलिएको छ । शाहीलाई जोगाउन नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सोमबार नेताहरुसँग छलफल गरेका छन् ।